कैदीबन्दीको कब्जाबाट बल्ल सुरक्षाकर्मीको नियन्त्रणमा आयो कैलाली कारागार
धनगढी,२५ साउन। कैदीबन्दीले नियन्त्रणमा लिएको कैलाली कारागारमा हतियारसहितका सुरक्षाकर्मी प्रवेश गरेका छन् ।

कैदीबन्दीका दुई समूहबीचको झडपका कारण शनिबारदेखि तनावग्रस्त रहेको कारागारमा सुरक्षाकर्मी समेत प्रवेश गर्न पाएका थिएनन् । आइतबार अपरान्ह नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली मानव अधिकार प्रदेश कार्यालय, धनगढीको रोहवरमा कारागारभित्र हतियारसहित प्रवेश गरेका हुन् ।
कारागारमा शुक्रबार राति सामूहिक झडप भएको थियो । कैदीबन्दीहरूले भित्रबाट ताला लगाउँदै थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएर कसैलाई प्रवेश गर्न दिएका थिएनन् । झडपमा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का ४० वर्षका भरत चौधरीको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् ।
घटनाको छानबिनका लागि पाँच सदस्यीय समिति गठन भएको छ । शनिबार प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।
समितिमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरिक्षक राजकुमार सिह, शसस्त्र प्रहरीका डीएसपी जनकराज पन्त, अनुसन्धान विभागका अनुसन्धान अधिकृत दिपेन्द्र सिह र जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य रहेका छन् ।

