बागमतीका निलम्बित नगरप्रमुख थापा भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौँ,२२ साउन । सर्लाहीको बागमती नगरपालिकाका नगरप्रमुख भरतकुमार थापा भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले उनलाई विचाराधीन चार मुद्दामध्ये दुईमा दोषी ठहर गरेको हो ।

अदालतले गैरकानूनी सम्पत्ति आर्जन र हानिनोक्सानी मुद्दामा दोषी ठहर गरेको छ । भ्रष्टाचार मुद्दामा माओवादी केन्द्रबाट चुनाव जितेका थापालाई अदालतले एक वर्ष कैद ठहर गर्दै हानिनोक्सानी मुद्दामा सजाय निर्धारणका लागि पेसी तोकिएको छ ।
विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले गैरकानुनी सम्पत्ति मुद्दामा थापालाई बिगो अनुसार तीन करोड ४५ लाख २२ हजार ३८७ रुपियाँ जरिबाना फैसला गरेको छ । बिगोले बढाएको सम्पत्ति जफतको फैसला पनि विशेषले गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाँच अवधिमा थापासँग तीन करोड ४५ लाख २२ हजार ३८७ रुपियाँ गैरकानूनी सम्पत्ति रहेको दाबी गरेको थियो ।
अख्तियारले थापासहित तीन जनालाई नगरपालिकाको कर हिनामिना मुद्दामा पनि दोषी ठहर गरेको छ । अदालतले थापासहित विमलकुमार पोखरेल र सागर पौडेललाई दोषी ठहर गरेको हो । भ्याटसमेत ३० करोड २९ लाख ३४ हजार ८९७ रुपियाँ रकम हिनामिना भएको अदालतको ठहर छ ।
नदीजन्य पदार्थको करमा राज्यलाई हानि पुर्याएको अख्तियारको दाबी थियो । अदालतले कसूर ठहर भएका तीनै जनाको हकमा सजाय निर्धारणका लागि साउन २९ गतेको पेसी तोकेको छ ।
अदालतले लीलाकुमारी मोक्तान, विश्वराज पोखरेल र मेथुर चौधरीलाई भने सफाइ दिएको छ ।

