दुधकुण्ड जाने श्रद्धालुहरुको स्वास्थ्य र सुरक्षामा सोलुदुधकुण्ड नगरपालिकाको चासो



सोलुखुम्बु,२० साउन । सोलुखुम्बु जिल्लामा पर्ने पवित्र धार्मिक स्थल दुधकुण्डमा यस बर्ष पनि भब्य मेला लाग्ने भएको छ । सोलुदुधकुण्ड नगरपालिका–१ मा अवस्थित दुधकुण्डमा नुहाएमा पुण्य प्राप्त हुने बिश्वासका साथ हरेक बर्ष जनैपूर्णिमाका अवसरमा बिशेष मेला लाग्दै आएको छ ।

समुद्री सतहदेखि ४ हजार ६ सय मिटरको उचाइमा पर्ने दुधकुण्डमा लाग्ने मेलामा श्रद्धालु भक्तजनहरूको उल्लेख्य भीड लाग्ने गरेको छ । बिगतमा स्वतस्फूर्त रूपमा श्रद्धालुहरु सो कुण्ड स्नानका लागि पुग्ने गरे पनि उनीहरूप्रति सरकारी निकायले खासै चासो राख्ने गरिएको थिएन। तर स्थानीय सरकारको नेतृत्व नाम्गेल जाङ्बु शेर्पाले सम्हाले यता दुधकुण्ड जानका लागि सडक मार्गको पहुँचलाई सहज बनाउने कार्यलाई प्राथमिकता दिनुका साथै श्रद्धालुहरुको सुविधा, स्वास्थ्य र सुरक्षालाई समेत प्रमुख प्राथमिकतामा राख्दै आएको छ ।

यस बर्ष जनै पूर्णिमा यही महिनाको २४ गते परेको छ । यसै अवसरमा आयोजना हुने मेलालाई दृष्टिगत गर्दै नगरपालिकाले औषधि र आवश्यक स्वास्थ्य सामग्रीसहितको स्वास्थ्यकर्मी टोली मेला क्षेत्रमा खटाइसकेको नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले बताउनुभयो ।

उचाईमा रहेको तीर्थस्थल भएका कारण यात्रामा थकान वा अन्य स्वास्थ्य समस्या आएको खण्डमा तुरुन्त सेवा दिन सकियोस् भन्ने उद्देश्यले स्वास्थ्यकर्मीको टोली खटाइएको वहाँले जानकारी दिनुभयो। शेर्पाले मेला भर्ने र यात्रा गर्ने क्रममा सावधानी अपनाउन र आवश्यक परेमा स्वास्थ्य टोलीसँग सम्पर्क गर्न समेत श्रद्धालुहरुलाई अनुरोध गर्नुभएको छ ।

मेलालाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित रूपमा मनाउन सबै लाग्नुपर्ने बताउंंदै नगर प्रमुख शेर्पाले भीड व्यवस्थापन र आकस्मिक उद्धार कार्यका लागि नगरप्रहरीको टोली परिचालन गरिएको जानकारी पनि दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्