नेपाल पर्वतारोहण संघको निर्बाचनका लागि कार्यतालिका सार्बजनिक



काठमाडौं,१८ साउन । नेपाल पर्वतारोहण संघ (एनएमए) को आगामी भदौ ७ गते हुने निर्वाचनका लागि निर्बाचित कार्यतालिका सार्बजनिक भएको छ ।

नक्सालस्थित संघको कार्यालयमा शुक्रबार सम्पन्न निर्वाचन आयोगको पहिलो बैठकले निर्वाचन कार्यतालिका अन्तर्गत उम्मेदवारी दर्ता, मतदाता नामावली प्रकाशन,दावी विरोध तथा अन्तिम उम्मेदवार सूची प्रकाशन लगायत सम्पूर्ण विवरण उल्लेख छ ।

कार्यतालिका अनुसार ३० साउनमा मतदाता नामावली प्रकाशन गर्ने, १ भदौमा उम्मेदवार दर्ता गर्ने र ७ भदौमा निर्वाचन गर्ने तथा ८ भदौमा मजदुरबाट ४ सदस्य पदका लागि निर्वाचन गरिने छ । निर्वाचन प्रज्ञा प्रतिष्ठान,कमलादीमा हुनेछ ।

बैठकले आगामी निर्वाचनका लागि विभिन्न निर्णयहरू गरेको छ । आयोगले केन्द्रीय कार्य समितिअन्तर्गत अध्यक्ष,वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, दुई जना महिला सदस्यसहित ११ सदस्य पदका लागि ७ भदौ २०८२ मा निर्वाचन गर्ने निर्णय गरेको छ । यस्तै संघमा दर्ता भएका पर्वतारोही (बुक होल्डर) र पर्यटन मजदुरबाट ४ सदस्य पदका लागि ८ भदौमा निर्वाचन गरिने छ ।

बैठक प्रमुख निर्वाचन अधिकृत भवेश गौतमको अध्यक्षतामा बसेको हो, जसमा निर्वाचन अधिकृत विकाश मल्ल ठकुरी र राजकुमार खतिवडाको उपस्थिति रहेको थियो ।

निर्वाचनको निष्पक्षता सुनिश्चित गर्न संघका कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता तुलसी भट्टलाई आयोगको सल्लाहकार नियुक्त गरिएको छ । साथै, संघका कर्मचारीलाई निर्वाचन सहयोगार्थ खटाइने निर्णय पनि गरिएको छ ।

मतदाता बन्न तथा उम्मेदवार हुनुपर्ने योग्यता पनि स्पष्ट रूपमा तोकिएको छ । सदस्यता लिई कम्तीमा एकपटक संघको साधारणसभामा सहभागी भइसकेका सदस्य मात्र उम्मेदवार बन्न पाउने छन् । मतदाता बन्नका लागि कम्तीमा ६ महिना अगाडि सदस्यता लिएको वा नविकरण गरेको हुनु पर्नेछ ।

निर्वाचनमा सहभागी हुन चाहने सबैलाई निर्वाचन कार्यतालिका अनुरूप तयारी गर्न आयोगले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्