स्वतन्त्र सांसद सिंहको ब्यंग्यात्मक अभिव्यक्तिले संसदमा लफडा
काठमाडौं, ८ असार । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले बजेट पाउने भाग्यमानी पाँच वटा जिल्लामात्रै नेपालमा राखेर बाँकी ७२ वटा जिल्ला अरु देशलाई लिजमा दिनुपर्ने व्यंग्य गरे। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै बजेट नपाउने जिल्लाहरुलाई अमेरिका,चीन र भारतलाई लिजमा दिनुपर्ने भन्दै उनले ब्यंग्य गरेपछि उत्पन्न लफडाले उनको अभिव्यक्ति संसदको रेकर्डबाट हटाईएको छ।

उनको अभिव्यक्तिप्रति एमालेका प्रमुख सचेतक महेश बर्तोलाले नियम आपत्ति जनाउँदै संसद्को रेकर्डबाट हटाएर कारबाहीसमेत गर्नुपर्छ भनेपछि बर्तोला, सांसद सिंह र सभामुख देवराज घिमिरेबीच भनाभन भएको हो ।
एमाले र कांग्रेसका अरू सांसदहरू पनि उठेर सिंहलाई कारबाहीको माग गरे । चर्काचर्की भएपछि सभामुख घिमिरले सिंहले दिएका अभिव्यक्ति हटाउन निर्देशन दिँदै विषयमा बोल्न निर्देशन दिनुभयो । सिंह थप आक्रोशित भएर बोल्न थालेपछि सभामुख घिमिरेले विषयमा बोल्न वा डायस छाडेर तल जान निर्देशन दिएका थिए।

