तामाखानीमा एकदिने स्वास्थ्य शिबिर सम्पन्न



सोलुखुम्बु,८ असार । सोलुदुधकुण्ड नगरपालिका र स्वास्थ्य कार्यालय सोलुखुम्बुको संयुक्त आयोजनामा स्वास्थ्य चौकी तामाखानीमा आयोजित १ दिने चिकित्सकस्तरीय स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

शिविरमा जिल्ला अस्पताल फाप्लुका वरिष्ठ चिकित्सक डा.रामबाबु जोशी र वोङ्छु शेर्पा मेमोरियल अस्पताल टाप्टिङका डा.ग्याल्छेन गुरुङको नेतृत्वमा विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेका थिए। सो शिविरमा सर्वसाधारणका लागि विभिन्न रोगहरूको प्रारम्भिक जाँच,परामर्श,औषधि वितरण तथा स्वास्थ्य सचेतनामूलक जानकारीहरू उपलब्ध गराइएको सोलु दुधकुण्ड नगरपालिकाले जनाएको छ ।

स्वास्थ्य चौकी तामाखानीमा सम्पन्न यस शिविरले दुर्गम भेगका बासिन्दाहरूलाई निःशुल्क तथा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर प्रदान गरेको छ। चिकित्सक स्तरीय सेवा ग्रामीण स्तरमै उपलब्ध गराएर नगरपालिका र स्वास्थ्य कार्यालयले समुदायमा स्वास्थ्य पहुँच विस्तार गर्ने प्रयासलाई सबल बनाएको छ। यस अभियानले विशेषगरी वृद्धवृद्धा, महिलाहरू र दीर्घरोगी बिरामीहरूलाई ठूलो राहत मिलेको स्थानियवासीहरूले बताएका छन्।

स्थानीय तहबाट अगाडि सारिएको यस्ता कार्यक्रमहरूले स्वास्थ्य सेवा प्रणालीको विकेन्द्रीकरण, जनचेतना अभिवृद्धि तथा प्राथमिक स्वास्थ्य सेवाको प्रभावकारिता वृद्धि गर्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्