रबि लामिछाने भने-‘कांग्रेसले प्रधानमन्त्री बनिदिन गरेको आग्रह नमान्दा जेल बस्नुपर्यो ‘
काठमाडौं,७ असार । सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेसले प्रधानमन्त्री बनिदिन गरेको आग्रह नमान्दा दण्डस्वरूप थुनामा बस्नु परेको बताएका छन् ।

पार्टी स्थापना दिवसको अवसर पारेर भैरहवा कारागारबाट अपिल जारी गर्दै उनले सोधेका छन्-‘किस्तीमा पाएको प्रधानमन्त्री पद त्यागेर त्यसैको दण्डस्वरूप आज थुना व्यहोरिरहेको मान्छे सत्तालोलुप हो कि विद्रोही ?’प्रधानमन्त्री बनिदेउ भनेर मध्यरातसम्म मेरै हस्ताक्षर कुरेर बसेको थियो कांग्रेसको मूल नेतृत्व,मैले मानिनँ । भोलिपल्टदेखि तिनैले मलाई सहकारी ठग भन्न थाले,रविले भनेका छन्।,
उनले बचतकर्ताको रकम फिर्ता गर्ने मूल उद्देश्यले खडा भएको सहकारी छानबिन विशेष समितिको १२ सय पृष्ठको प्रतिवेदन आफ्नाविरुद्ध मात्रै कार्यान्वयन भएको आरोप लगाएका छन् । उक्त प्रतिवेदन छलपूर्वक र बलपूर्वक कार्यान्वयन भएको उनको दाबी छ ।
“रवि लामिछानेले ठगेका प्रमाण हामीसँग छन्, आफैँ निवेदन दिएर सहकारीबाट पैसा निकालेको प्रमाण छन् भनेर संसद्मा सादा कागज देखाउँदै गर्जेकाहरूले अहिलेसम्म केके दिए त प्रमाण ?,” उनले काराकारबाटै प्रश्न गरेका छन् ।
अनुसन्धान र अभियोजनमा हकदैया,क्षेत्राधिकार र हदम्याद महत्वूर्ण विषय भएको भन्दै उनले आफूविरूद्धको मुद्दामा यी तीनै विषयको पूर्णतः बेवास्ता गरिएको गुनासो गरेका छन् । कानुनअनुसार चल्दै नचल्नुपर्ने र चल्नै नहुने मुद्दा आफूमाथि चलाइएको रविले दाबी गरेका छन् ।
गैरकानुनी सिन्डिकेटले देश चलाएको समयमा व्यक्तिको मौलिक अधिकार हनन् हुने भन्दै उनले भनेका छन्, “राज्यका सबै अंग तिनैका भर्तीकेन्द्र भएको देशमा न्यायका लागि ढकढक्याउन कुनै ढोका छ कि छैन भन्ने आशंका कसरी हट्छ ?”
सहकारीमा प्रत्यक्ष संलग्नहरू स–सानो धरौटीमा छुट्दा संलग्नै नभएको आफू भने थुनामा रहेको उनले बताएका छन् । अदालतको मानहानिका डरले आफ्नो पक्ष खुलस्त राख्न नसकेको उनले प्रष्ट पारेका छन् ।
आफूमाथि अत्याचार गर्ने लोकतन्त्र नभएर व्यक्ति भएको उनले बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली र छानबिन विशेष समितिका संयोग सूर्य थापा भएका आरोप लगाएका छन् । उनले भनेका छन्, “…ओली–थापाहरूको कुटिल षड्यन्त्र र लेखक–वडालहरूको कानुनी प्रपञ्च हो । विधिको शासन त यिनीहरूले उहिल्यै समाप्त पारिसकेका हुन् ।”
मध्यरातमा त्रिशूलीको बाटो, परिवारलाई समेत खबर नगरी आफूलाई कहाँ पुर्याउन हिँडाइएको थियो भन्दै उनी भन्छन्, “त्यो दिन राज्यको नियत मलाई पोखरा पुर्याउने थियो वा गायवै गर्ने, म यसै भन्न सक्दिनँ ।
लामिछानेले संविधान पुनर्लेखन र प्रदेश खारेज गर्नुपर्ने पनि बताएका छन्।‘भ्रष्टहरुको आर्थिक र राजनीतिक अपराधको टेको बनेको वर्तमान संविधान अब संशोधन होइन, पुनर्लेखन हुनुपर्छ,’ उनले सन्देशमा भनेका छन्।’ -file foto

