नेपाल-पाकिस्तान संसदीय सम्बन्धलाई मजबुत बनाउनुपर्नेमा पाकिस्तानी राजदूत हाश्मीको जोड
काठमाडौं,६ असार । नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच.हाशमीले नेपाल-पाकिस्तान संसदीय सम्बन्धलाई अझ पारस्परिक र मजबुत बनाउनु पर्ने बताउनुभएको छ ।

नेपालको संघीय संसदको पाकिस्तान-नेपाल संसदीय मैत्री समूहसंगको अन्तरक्रियामा बिहिवार राजदूत हाशमीले साझा सांस्कृतिक सम्पदा,पारस्परिक सम्मान र क्षेत्रीय आत्मीयतामा आधारित पाकिस्तान र नेपालबीचको लामो समयदेखिको सौहार्दपूर्ण सम्बन्धको चर्चा गर्दै दुई संसदबीचको सम्बन्ध, व्यापार,पर्यटन,शिक्षा,स्वास्थ्य, संस्कृति,जलवायु लचिलोपन,P2P र क्षेत्रीय शान्तिमा द्विपक्षीय सहयोगलाई अझ विस्तार गर्ने पाकिस्तानको इच्छा दोहोर्याउनुभएको नेपाल स्थित पाकिस्तानी दूतावासले जनाएको छ।
दूतावासका अनुसार अन्तरक्रियामा मैत्री समूहका सांसद, पाकिस्तान दूतावासका कूटनीतिज्ञहरू र नेपाल-पाकिस्तान मैत्री तथा सांस्कृतिक संघको उपस्थिति थियो।सो अवसरमा राजदूत हाश्मीले शान्तिपूर्ण र समृद्ध दक्षिण एसियाको लागि पाकिस्तानको दृष्टिकोणमा जोड दिँदै पाकिस्तानको अर्थतन्त्र र क्षेत्रीय अवस्थाको पछिल्लो विकासको बारेमा संसदीय मैत्री समूहलाई जानकारी गराउनुभयो।
पाकिस्तान-नेपाल संसदीय मैत्री समूहका सदस्यहरूले नेपाललाई पाकिस्तानले निरन्तर गरेको सहयोगको लागि प्रशंसा व्यक्त गर्दै कुनै पनि बाधारहित सम्बन्धमा सन्तुष्टि व्यक्त गरे र पारस्परिक समझदारीलाई गहिरो बनाउन संसदीय आदानप्रदानमा जोड दिएका थिए।
दुवै पक्षले बलियो संस्थागत सम्बन्ध निर्माण,खुला संवाद र बहुआयामिक सम्बन्धलाई बढावा दिँदै दुई देश र जनताबीचको मित्रताको बन्धनलाई अझ सुदृढ गर्दै दुई देशको हितको लागि नियमित रूपमा सँगै काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

