मध्यपुर थिमिमा जेष्ठ नागरिक क्षमता अभिवृद्धि तालिम सम्पन्न
केके मानन्धर,भक्तपुर,४ असार। न्हापांगु पलाःनेवाःमिसा ग्वहालि पुचःले जेष्ठ नागरिकहरु लक्षित गरी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ ।

मध्यपुर थिमिको बोडेस्थित कुमारी पार्कमा आयोजित समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । बागमती प्रदेश सरकारका सांसद माननीय नुरज बज्राचार्य;वडा अध्यक्ष रमेश थापा श्रेष्ठ र नेपाली सेनाका मेजर पूर्ण प्रजापतिले ४२ प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरे । यसैबीच,मिसा पुचःको स्थापनादेखि नै योगदान गर्दै आएकी प्रमिला बज्राचार्यलाई सम्मान गरिएको थियो ।
पुचःले बागमती प्रदेश सरकार,सामाजिक विकास मन्त्रालय र सामाजिक विकास कार्यालयको लागत साझेदारीमा तालिम दिएको थियो । तालिम अन्तर्गत प्रशिक्षार्थीहरूलाई डोला र बोटा बनाउने, लप्ते (नेवाः भोज खाँदा प्रयोग हुने पातबाट बनेको बस्तु) सिलाई गर्ने र सुकुल बुन्ने तालिम दिइएको थियो । घरमा छोराबुहारी र नातीहरुमा निर्भर हुन नपर्नेगरी जेष्ठ नागरिकहरुलाई आंशिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले सीप सम्बन्धिको तालिम दिइएको समूहकी अध्यक्ष शिला सायमिले बताइन् । उनका अनुसार ३२ जनालाई लप्ते सिलाई तालिम दिइएको छ भने २० जनालाई सुकुल बुन्ने र १० जनालाई सुकुल र लप्ते बनाउने तालिम दिइएको छ ।
तालिममा दुई पटक सम्म भिमरथारोहण गरेका (८२ वर्ष नाघेका)देखि ६० वर्ष उमेरमाथिका हजुरआमाहरू सहभागी भएका थिए । प्रशिक्षकहरूमध्ये ललितपुर थसिस्थित सुजाता महर्जनले सुकुल बुन्ने तालिम दिइन् र काठमाडौंकी पटनादेवी रञ्जितले लप्ते बनाउने तालिम दिइन् । वैशाख ७ गते उद्घाटन गरिएको तालिम जेठ ३० गते सकाएर असार ३ गते समापन समापन गरिएको थियो । समूहले विगत १० वर्षदेखि वृद्धवृद्धाहरूलाई दिवा हेरचाह सेवा प्रदान गर्दै आएको छ । संयुक्त परिवारमा बसे पनि छोराबुहारी आआफ्नै काममा जाने र नातीहरु स्कूल र कलेज जानेहुँदा जेष्ठ नागरिकहरु दिनभर घरमै एक्लो हुने गरेका छन् ।
त्यसैले समूहले दिनभर उनीहरूलाई भेला गरेर कथा सुनाउने, उनीहरूसँग कुराकानी गर्ने र घुम्न लैजाने काम गरिरहेको छ । यसैबीच, समूहले हालै वृद्धवृद्धाहरूलाई आंशिक रूपमा आत्मनिर्भर बनाउन सीप विकास तालिम प्रदान गरेको छ । समूहले जेष्ठ नागरिक सामुदायिक भवन निर्माणको लागि प्रतिव्यक्ति रु.१०० चन्दा माग गरी रु. १०० अभियानको घोषणा गरेको छ ।

