सञ्चालनमा आएको १३ घण्टामै अवरुद्ध भयो पूर्वपश्चिम राजमार्ग



काठमाडौं,४ असार । पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन पुनः अवरुद्ध भएको छ । नवलपरासीको बर्दघाट सुस्ता पूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी खोलाको डाईभर्सन बाढीले बगाउँदा सवारी आवागमन अवरुद्ध भएको हो ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत दुम्किवासको विनयी खोलामा गएरातिदेखि परेको पानीका कारण बाढी आएपछि निर्माण गरेको अस्थायी डाइभर्सन पुनः बगाएको छ । डाइभर्सन बगाएपछि सवारी आवागमन बन्द भएको छ ।

उक्त स्थानमा डिभिजन प्रमुखको निर्देशनमा इन्जिनियरसहितको टोलीले छिटोभन्दा छिटो सवारी आवागमन खुलाउने प्रयास गरिरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

“पानीको सतह कम भए अबको ४ देखि ५ घण्टाभित्र सवारी आवागमन सुचारू हुन्छ,” सडक डिभिजन कार्यालय भरतपुरले भनेको छ ।

१३ घण्टा अगाडि एकतर्फी सडक सञ्चालनमा आएको थियो । तर, पुनः बाढी आएर डाइभर्सन बगाएपछि सवारी आवागमन ठप्प भएको हो ।

प्रतिक्रिया दिनुहोस्