दादागिरी बन्द सभामुख घिमिरेलाई राप्रपा मुख्य सचेतक शाहीको चेतावनी



काठमाडौं,१ असार । रास्वपा र राप्रपाको बिरोधका बीच प्रतिनिधि सभा बैठक अहिले बसिरहेको छ।

निर्धारित समय भन्दा ढिलो सुरु बैठकमा रास्वपा र राप्रपाका सांसदहरूले उभिएर विरोध जनाई रहेका बेला सभामुख देवराज घिमिरेले अघि बढाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं संसदीय दलका मुख्य सचेतक ज्ञानबहादुर शाहीले त्यसलाई ‘दादागिरी शैली’ को संज्ञा दिएका छन् ।

प्रतिपक्षी दलको विरोधको वाबजुद पेलेर नै संसद् अगाडि बढाउने प्रयास गरेको भन्दै नेता शाहीले भने- ‘संसद्मा आन्दोलन भइरहँदा संसद् चलाउनु उचित हुन्छ ? उचित हुँदैन भन्ने मलाई लाग्छ सम्माननीय सभामुखज्यू । त्यही भएर कुरा केही नराखी उहाँहरु पनि हामी पनि जनताले जिताएको जनप्रतिनिधि हो । भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही गर्ने भन्ने मागमा सबैले साथ दिनुस् । यसरी संसद चलाउनु यो संसदीय अभ्यास होइन । यो दादागिरी हो । दादागिरी बन्द गर्नु्स्।’

शाहीले असहमति जनाएर प्रतिपक्षी दलहरूले अवरोध गरिरहँदा पनि बैठक सञ्चालन गरिएकाले आफ्नो दलले बहिस्कार गर्ने बताएपछि राप्रपा सांसदहरु बैठकस्थलबाट बाहिरिएका छन् । उता,रास्वपा सांसदहरुले भने बेल घेराउ गरेर नाराबाजी सहित गृहमन्त्री लेखकको राजीनामा माग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्