अमेरिका र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ



काठमाडौं,३१ जेठ ।वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने नुवाकोट विदुर नगरपालिका-४ घर भएका ५१ वर्षीय राज कुमार मानन्धर र काठमाडौं महानगरपालिका-१४ बस्ने रूपन्देही तिलोत्तमा नगरपालिका-२ घर भएका ४० वर्षीय ओम बहादुर खत्री रहेका छन् ।
पक्राउ मध्ये राज कुमारले अमेरिका पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३५ लाख ६९ हजार रूपैयाँ र ओम बहादुरले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ७५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राज कुमारलाई काठमाडौं महानगरपालिका-१६ बाट बिहीबार र ओम बहादुरलाई काठमाडौं महानगरपालिका-१२ बाट शुक्रबार पक्राउ गरेको हो।

पक्राउ मध्ये राज कुमारलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र ओम बहादुरलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

उता,ठगी सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१० बस्ने कञ्चनपुर भीमदत्त नगरपालिका-१४ घर भएका २३ वर्षीय खगेन्द्र बिष्टलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपलिका-१० मध्यबानेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्