संसद् अवरोध खुलाउन माओवादी र समाजबादी सहमत,एक्लियो रास्वपा



काठमाडौं,३० जेठ। संसद्को जारी अवरोध हटाउन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजबादीले सत्तारुढ दलसँग दुई बुँदे सहमति गरेपछि रास्वपा एक्लिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र) ले रास्वपालाई पनि हस्ताक्षर गर्न अनुरोध गरेपनि यो सहमतिमा रास्वपाले सहमती नजनाएपछी माओवादी केन्द्र र समाजबादीले मात्रै हस्ताक्षर गरेका हुन्। सहमतिपत्रमा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे, एमाले प्रमुख सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेको हस्ताक्षर रहेको छ ।

प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहालले पनि तीन दलबीच २ बुँदे सहमति भएको स्पष्ट पारे । उनले अब सदन खुल्ने बताए । तीन दलबीच भएको सहमतिको पहिलो बुँदामा भनिएको छ,‘भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। उक्त कार्यलाई अस्तियार दुरूपयोग अनुसन्धान आयोगले निष्कर्षमा पुयाउने नै छ। उक्त विषयका सम्बन्धमा छानबिनका लागि आयोगले माग गरेबमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ ।’

यस्तै, दोस्रो बुँदामा लेखिएको छ,‘अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवं छानबिन गरी नीतिगत, कानूनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्ने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्