अनेरास्ववियुको अध्यक्षमा डा. कडरिया निर्बाचित, कसले कति ल्याए मत ?



काठमाडौं,३० जेठ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको २४ औँ महाधिवेशनबाट अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतले पछि पार्दै कडरिया निर्वाचित भएका हुन् । कडरियाले ७३२ मत ल्याए भने पौडेलले ७२५ मत पाए ।

मतगणनाका क्रममा उनीहरूबीच कडा प्रतिस्पर्धा भएको थियो । कीर्तिपुरमा जारी सम्मेलनमा बिहीबार विद्युतीय मतदान भएको थियो ।दुवै जना प्यानल सहित मैदानमा उत्रिएका थिए । कडरियाको प्यानल अध्यक्ष मण्डलकै तर्फबाट प्रस्ताव भएको थियो ।
पौडेलले भने अध्यक्ष मण्डलको प्रस्तावप्रति असहमतहरूलाई समेटेर प्यानल बनाएका थिए ।

त्यस्तै, महासचिवमा दीपक धामी निर्वाचित भएका छन् । उनी पनि कडरियाकै प्यानलबाट महासचिवका उम्मेदवार थिए ।पौडेलको प्यानलबाट महासचिवका उम्मेदवार आरके रोमस पराजित भएका छन् ।

त्यसैगरी, चार जना सचिव तर्फ आकाश घर्ती मगर, रचना सापकोटा, समिम बाबु खान र गोपाल नेपाल निर्वाचित भएका छन् ।उनीहरूले क्रमशः ३ सय ६०, ३ सय ४, २ सय ७३ र २ सय ६८ मत पाएका थिए ।

त्यस्तै केन्द्रीय आयोग तर्फ निर्वाचन आयोगको अध्यक्षमा जित प्रसाद सिटौला,उपाध्यक्षमा प्रविन गिरी र सचिवमा विशाल पराजुली विजयी भएका छन् ।

लेखा अयोग अध्यक्षमा अञ्जलि लम्साल, उपाध्यक्षमा समीक्षा ढकाल र सचिवमा गगनसिंह बस्नेत विजयी हुँदा अनुशासन आयोगको अध्यक्षमा सुमन घिमिरे, उपाध्यक्षमा आकाश गिरी र सचिवमा स्मृति अधिकारी विजयी भए ।

त्यस्तै, अयोग तर्फै नीति योजना तथा अनुसन्धान आयोगको अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्षमा योगेश बम र सचिवमा विष्णु पाण्डे विजयी भएका छन् ।अनेरास्ववियुमा ९ पदाधिकारी,४० सचिवालय सदस्य,१०२ केन्द्रीय सदस्य,४ आयोगमा १३/१३ सदस्यका दरले ५२ आयोग सदस्य सहित २०१ सदस्यीय केन्द्रीय कार्यसमिति रहने ब्यबस्था छ।

जेठ २५ गतेदेखि काठमाडौँ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा जारी महाधिवेशनका क्रममा बिहीबार नयाँ नेतृत्वको लागि निर्वाचन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्