टंक चन्द निर्भीकका चार मुक्तक

मुक्तक – १

तिमी गजल लेख्छौ र म मुक्तक लेख्छु
तिम्रो र मेरो सुन्दर कहानी भर्सक लेख्छु
तिम्रो गन्तब्य काफियाले रोक्न सक्ला
म त तुकहरुमा तैरिन्छु र अथक लेख्छु ।
मुक्तक -२
मदन बिनाका मुनाहरू कराएको देख्छु
फरिया चोली पधेंरोमा हराएको देख्छु
लाग्छ रात नपर्दै दिन नडुब्दै अचेल पनि
आमाको छाती फुटेर चहराएको देख्छु ।
मुक्तक – ३
घुमाउरो छ नागबेलि छ बाटो यो देशको
रगत रोप्दा सहिद फल्ने माटो यो देशको
उप्किएला कसो गरि पौरखी यि हातहरूले
अङ्ग अङ्ग घाउ बनेको खाटो यो देशको ।
मुक्तक -४
जन्म दिनको दिन रुख रोपौं मर्दा चाहिन्छ
गाउँ समाजमा कुनै अप्ठ्यारो पर्दा चाहिन्छ
अन्तिम शैयामा छोप्ने आखिर दाउराले नै हो
छोरा र आफन्तले बस्त्रहरण गर्दा चाहिन्छ ।
तुलसीपुर-९
बेलुवा दाङ

