सरकारमा सम्मानजनक उपस्थिति नपुगेको कांग्रेस सांसदहरुको गुनासो



काठमाडौँ । नेपाली काँग्रेसका सांसदहरुले समान ढंगले र क्षेत्रगत रुपमा सन्तुलित विकास गर्नेगरी बजेट विनियोजन हुनुपर्ने कुरामा जोड दिएका छन् ।

शनिवार नयाँ बानेश्वरमा बसेको काँग्रेस संसदीय दलको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा आ-आफ्नो धारणा व्यक्त गर्दै सांसदहरूले सो कुरामा जोड दिएको पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए।

सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउँने तयारी गरिरहेका बेला बसेको संसदीय दलको बैठकमा बजेट लगायत विविध विषयमा खुलेर छलफल भएको उनले बताए।
घिमिरेका अनुसार बैठकमा ठूलो दलको हिसाबले सरकारमा सम्मानजनक उपस्थिति नपुगेको भन्दै गुनासो गरेका थिए ।।

उनले भने ‘आज बजेट लगायतका विविध विषयहरूमा छलफल गर्नको लागि यो बैठकको आयोजना गरिएको हो । सांसदहरूले बजेट लगायत विविध विषयमा खुलेर छलफल गर्नुभयो । सक्रियतापूर्वक सहभागिता जनाउनु भयो । डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्यलाभको कामना गरेका छौँ । दुई वटा शोक प्रस्तावहरू । नगिना यादवको पितृको स्वर्गारोहण भएको र ओखलढुंगाका पूर्व पार्टी सभापति एवं जिल्ला विकासका पूर्वसभापति महेश कर्मोचाको निधनमा शोक प्रस्ताव पारित गरेका छौँ । गभर्नरको विषयमा पनि कुरा उठ्यो । बजेट कसरी वितरण हुन्छ, बजेट वितरणमा समान ढंगले गर्नुपर्छ, क्षेत्रगत रुपमा सन्तुलित विकास हुनुपर्छ भन्ने कुरा पनि भयो ।’

प्रतिक्रिया दिनुहोस्