सोलुखुम्बुका गाउँपालिकामध्ये थुलुङ दुधकोशीको सबै भन्दा कम बेरुजु



सोलुखुम्बु,१ जेठ। एक नगरपालिका र ७ वटा गाउँपालिका गरी ८ वटा स्थानीय तह रहेको सोलुखुम्बुमा गाउँपालिकामध्ये सबैभन्दा कम बेरुजु थुलुङ दुधकोशीको देखिएको छ ।

महालेखापरीक्षकको कार्यालयद्वारा बुधबार सार्वजनिक आर्थिक वर्ष २०८०/०८१ को ६२औं वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार थुलुङ्ग दुधकोशी गाउँपालिकाको १ अर्ब २३ करोड ३६ लाख ४९ हजारको लेखा परीक्षण गर्दा १.२३ प्रतिशतमात्र बेरुजु देखिएको हो।

जनशक्ति अभाव तथा अन्य गाउँपालिकाको भन्दा बढी रकम कार्यान्वयन गर्दा पनि थुलुङको बेरुजु कम हुँदै जानु सुखद रहेको गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो । यसलाई शुन्यमा झार्ने लक्ष्यसहित काम भैरहेको उहाँको भनाई छ ।

जिल्लामामा सबैभन्दा बढी बेरुजु महाकुलुङ गाउँपालिकाको ४.६९ प्रतिशत देखिएको छ । कुल ८४ करोड ७३ लाख ९ हजारको लेखापरीक्षण गर्दा उक्त बेरुजु देखिएको हो । यस्तै लिखुपिके गाउँपालिकाको ५१ करोड ३५ लाखको लेखापरीक्षण गर्दा ३.६४ प्रतिशत, सोताङ गाउँपालिकाको ८२ करोड ५१ लाख ५९ हजारको लेखापरीक्षण गर्दा २.९८ प्रतिशत, नेचा सल्यानको १ अर्ब २ करोड ४५ लाख ८५ हजारको लेखापरीक्षण गर्दा २.३५ प्रतिशत बेरुजु देखिएको छ ।

बुधबार सार्वजनिक गरिएको प्रतिवेदन अनुसार माप्य दुधकोशी गाउँपालिकाको ८५ करोड ९९ लाख ८१ हजारको लेखापरीक्षण गर्दा २.०४ प्रतिशत र खुम्बुपासङ ल्हामु गाउँपालिकाको १ अर्ब १२ करोड ४५ लाख ६ हजारको लेखापरीक्षण गर्दा १.३४ प्रतिशत बेरुजु देखिएको छ ।

महालेखाको प्रतिवदेनअनुसार कुल बजेट १ अर्ब ५८ करोड २२ लाख ४५ हजारको लेखा परीक्षण गर्दा नगरपालिकाको कुल बेरुजु ०.०१ प्रतिशत मात्र देखिएको छ । यो जिल्लाका सबै स्थानीय तहका भन्दा कम हो।

प्रतिक्रिया दिनुहोस्