आपसी बिबादमा कुटपिट हुँदा सोलुखुम्बुमा एकजनाको मृत्यु
सोलुखुम्बु,२२ बैशाख । आपसी विवादमा कुटपिट हुँदा सोलुखुम्बुमा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोलु दुधकुण्ड नगरपालिकाको पिकेपोख बस्ने अन्दाजी ५२ बर्षीय ङ्वाङ शेर्पा रहेका छन् । सोलुदुधकुण्ड नगरपालिका ३ मा दाउरा बोक्ने क्रममा आइतबार दिउँसो भएको आपसी विवादका क्रममा लिखुपिके गाउँपालिकाका पेम्बा तामाङको कुटपिटबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
कुटपिटमा घाइते भएपछि स्थानीय जुकवीर तामाङको घरमा गएर सुतेका शेर्पा सोमबार बिहान मृत फेला परेको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रविण श्रेष्ठका अनुसार घटनाको जानकारी पाए लगतै प्रहरी चौकी तामाखानीबाट खटिएको प्रहरी टोलीले तामाङलाई नियन्त्रणमा लिइ जिल्ला अदालत सोलुखुम्बुबाट अनुसन्धानका लागि १० दिनको म्याद थप गरिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उनले बताए।

