मामाको हत्या अभियोगमा भाञ्जा र जेठानीको हत्या अभियोगमा देउरानी पक्राउ
काठमाडौँ,२० बैशाख । काठमाडौँको नागार्जुन नगरपालिका-३ रातामाटे बस्ने सिन्धुली फिक्कल गाउँपालिका-५ घर भएका ४५ वर्षीय सन्तोष माझीको हत्या गरेको अभियोगमा उनकै भान्जा नाता पर्ने युवक पक्राउ परेका छन् ।

सोही ठाउँ बस्ने २८ वर्षीय सुरज तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । सुरजले फलामको पाइप प्रहार गर्दा सन्तोषको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।
उता, मुगुको छाँयानाथ रारा नगरपालिका-१२ लुम्स गाउँ बस्ने ३६ वर्षीया दुर्गा ऐडीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीया बिमला बुढालाई जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । जग्गाको विषयलाई लिएर बिमलाले मंगलबार बिहान कुटपिट गर्दा गम्भीर घाइते भएकी दुर्गाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा थप उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको थियो ।
हत्या गर्ने बुढा देउरानी र मृत्यु हुने ऐडी जेठानी हुन्।उनीहरूका ससुरा बाचुराम ऐडीका अनुसार कुनिउखात भन्ने स्थानको जग्गा ३ भाइ मध्ये कसैलाई भागबन्डा नगरिएको र त्यही जग्गा देउरानीले मेरो भाग हुनुपर्छ र जेठानीले मेरो भागमा हुनुपर्छ भन्ने विवादले झगडा भएको थियो।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

