युथ सेलिब्रेशनमा जिल्लाबाट दुई सय बढी युवा सहभागी गराउने सोलु एमालेको निर्णय
सोलुखुम्बु,९ बैशाख। नेपाल कम्युनिस्ट पार्टी एमाले जिल्ला कमिटी सोलुखुम्बुको छैंटौ पुर्ण बैठकले काठमाडौंमा बैशाख ११ गते आयोजना गरिएको युवा सेलिब्रेशन कार्यक्रममा सक्रिय सहभागिता जनाउने निर्णय गरेको छ ।

नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको ७६ बर्षगाँठको अवसरमा आयोजित बैठकले नेकपा एमाले केन्द्रीय कमिटीको आयोजनामा हुन लागेको बिशाल युथ सेलिब्रेशनमा सोलुखुम्बुका तर्फबाट २ सयको हाराहारीमा युवाहरुलाई सहभागि गराउने निर्णय गरेको हो ।
नेकपा एमालेले जनताले जितेको दिन भनेर २०६२/६३ को जनआन्दोलनले तत्कालित राजतन्त्रलाई घुँडा टेकाको दिनलाई उत्सवका रुपमा मनाउने उद्धेश्य सहित बैशाख ११ गते काठमाण्डौको भृकुटीमण्डपमा बिशाल युथ सेलिब्रेसन कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा जिल्लास्थित प्रत्येक वडाबाट २ जना युवा तथा नेकपा एमालेका अन्य जनसंगठन, भुगोल लगायतका तर्फबाट पनि सो कार्यक्रममा सहभागिता रहने जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिनु भएको छ ।
अध्यक्ष बास्तोलका अनुसार बैठकले सोलुखुम्बु जिल्लाको ८ वटै स्थानिय तहमा गठित पार्टी नगर तथा गाउँ कमिटीले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन पारित गरेको छ । बैठकमा नेकपा एमालेले संचालन गरेको वडा जरा केन्द्रित अभियानको समिक्षा समेत भएको छ ।
नेकपा एमाले, सोलुखुम्बुको आगामी कार्ययोजना निर्माण गरी सदस्यता नविकरण, नयाँ सदस्यता बिस्तार तथा अनलाईन सदस्यता व्यवस्थापनका कार्यलाई दु्रत गतिमा अगाडी बढाउन संगठन बिभागलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
बैठकमा नेकपा एमालेका केन्द्रिय सदस्य एवं सोलुखुम्बु जिल्ला ईन्चार्ज किशोर अधिकारी,प्रदेश सचिवालय सदस्य एवं कोशी प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारी लगायतको उपस्थिति रहेको थियो ।