कक्षा १२ को परीक्षामा सहभागी हुन धम्कीसहित दबाब आएको महासंघको आरोप



काठमाडौँ । आन्दोलनरत नेपाल शिक्षक महासंघले वैशाख ११ बाट सुरु हुने कक्षा १२ को परीक्षामा सहभागी हुन राष्ट्रिय परीक्षा बोर्ड र जिल्ला प्रशासन कार्यालयबाट धम्की सहित दबाब आएको बताएको छ ।

मंगलबार विज्ञप्ति जारी गर्दै महासंघले कक्षा १२ को परीक्षामा सहभागी हुन राष्ट्रिय परीक्षा बोर्ड र जिल्ला प्रशासन कार्यालयबाट धम्की सहित दबाब दिएकोप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै परीक्षा प्रक्रियामा सहभागी नहुन सम्पूर्ण शिक्षक विद्यालय कर्मचारीहरूलाई अनुरोध गरेको छ ।

यसअघि बोर्डले शुक्रबार विज्ञप्ति जारी गर्दै कक्षा १२ को परीक्षा स्थगित भएको भन्दै भ्रामक सूचना सम्प्रेषण भएकोप्रति कानुनी उपचार खोज्ने बताएको छ ।

शिक्षकहरुको आन्दोलन जारी रहेका समयमा वैशाख ११ गतेदेखि तय कक्षा १२ को परीक्षा स्थगित भएको सूचना भाइरल भएको थियो ।परीक्षा जस्तो संबेदनशील विषयमा बोर्डको लेटरप्यादमा अनधिकृत र भ्रामक सूचना सम्प्रेषण भएको भन्दै बोर्डले साइबर कानुन अन्तर्गत आवश्यक कारवाहीको प्रक्रिया अगाडी बढाएको बताएको छ ।

बोर्डले राष्ट्रिय परीक्षा बोर्डको वेभसाइटबाट आउने आधिकारीक सूचनालाई विश्वास गर्न र परीक्षाको तयारी गर्न विद्यार्थीहरुलाई अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्