नेचासल्यानमा शहीद पार्क निर्माणका लागि बजेट व्यवस्था गर्ने अध्यक्ष राईको प्रतिबद्धता



सोलुखुम्बु,७ बैशाख।शहीद कुसुम स्मृति प्रतिष्ठानको आयोजनामा दोस्रो जनआन्दोलनका शहीद दिपक विश्वकर्माको १९ औँ श्रद्धाञ्जली तथा दीप प्रज्ज्वलन कार्यक्रम नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राईको प्रमुख आतिथ्यता र शहीद माता शोभा विश्वकर्माको गरिमामय उपस्थितिमा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष लोकेन्द्र आर.सी. ले नेचासल्यानको भूगोलबाट पंचायत कालमा वि.सं.२०१८ सालमा शहीद हुनुहुने नरनाथ कट्टेलदेखि जनयुद्वको क्रममा शहादत हुने भरतबहादुर राउत, रमेश कट्टेल, गणेश राई,आइकम राई,जितेन्द्र राई, उत्तरकुमार कार्की,तिलककुमारी गिरी,अमृत कुमार राई देखि दोस्रो जन आन्दोलनका शहीद दिपक विश्वकर्मा सम्मको नाममा शहीद स्मृति पार्क निर्माणका गाउँपालिका समक्ष प्रस्ताव गर्नु भयो ।

उक्त प्रस्तावलाई ५ नं वडा अध्यक्ष राजनकुमार राईले शहीद दिपक विश्वकर्माको जन्मिएको ५ नं वडा भएकोले पार्कलाई आवश्यक पर्ने जग्गा व्यस्थापन गर्ने वचनवद्वता गर्नु भयो । उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष धनजन राईले पार्क निर्माणमा प्रतिवद्वता व्यक्त गर्दै बजेट व्यस्था गर्ने बताउनुभयो । त्यसैगरी उपाध्यक्ष विना राई, वडा अध्यक्षहरु इन्द्र बहादुर राई,सीताराम भट्टराई र प्रशासकीय अधिकृत टंक घिमिरेले आवश्यक बजेट व्यवस्था गर्न साथ सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । त्यसैगरी एमाले र नेकपा माओवादी केन्द्रका नेताहरु क्रमशः बालकुमार भट्टराई र वियस राईले शहीद पार्क निर्माण गरेर शहीदहरुप्रति पालिकाले गर्न खोजेको श्रद्धा र सम्मानलाई मुक्तकण्ठले प्रसंशा गर्दै यो अभियानमा आआफ्नो पार्टीको तर्फबाट गाउँपालिकालाई साथ सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा पालिका उपाध्यक्ष बिना राई,प्रमुख प्रशासकीय अधिकृत टंकनाथ घिमिरे,३ नं वडा अध्यक्ष सिताराम भट्टराई,४ नं वडा अध्यक्ष इन्द्रबहादुर राई,५ नं वडा अध्यक्ष राजन कुमार राई ,नेकपा एमालेका नेचासल्यान इन्चार्ज बाल कुमार भट्टराई,नेकपा माओवादी केन्द्रका नेचासल्यान अध्यक्ष वियस राई,सचिव बम प्रसाद बाँस्तोला लगायतको महत्वपूर्ण उपस्थिति रहेको थियो । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष लोकेन्द्र आर.सी. को अध्यक्षतामा सम्पन्न भएको छ ।

शहीद दिपक विश्वकर्मा साबिक नेचाबतासे गाविस-९ हाल नेचासल्यान-५ मा बुबा रहरमान विश्वकर्मा र आमा शोभा विकको ५ सन्तान मध्ये जेठो सन्तान हुनुहुन्थ्यो ।

वहाँ तत्कालीन सात राजनैतिक दल र नेकपा माओवादीले संयुक्त रुपमा गरेको २०६२/०६३ को दोस्रो जन आन्दोलनको क्रममा २०६३ साल बैशाख ०७ गते काठमाडौंको कलंकी चोकमा प्रहरीको गोली लागि शहीद हुनुभएको थियो । दोस्रो जनआन्दोलनमा देशभर १९ जना शहीद हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्