स्वीकृति नलिई सोलुदुकुण्ड नगर क्षेत्रभित्रका मुख्य सडकबाट पहुँच सडकको ट्रयाक ओपन गर्न नपाईने
सोलुखुम्बु,५ बैशाख।सोलुदुधकुण्ड नगरपालिकाले नगर क्षेत्रभित्र मुख्य सडकबाट नगरपालिकाको स्वीकृत नलिई पहुँच सडकको ट्रयाक ओपन कार्य रोक्ने निर्णय गरेको छ।

नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाको अध्यक्षता शुक्रबार सम्पन्न नगर कार्यपालिकाको बैठकले नगरपालिकाको स्वीकृत नलिई पहुँच सडकको ट्रयाक ओपन गरेका कारण भू-क्षय र पहिरोको जोखिम बढेको भन्दै नगरपालिकाले सडकको ट्रयाक ओपन कार्य रोक्ने निर्णय गरेको हो।पहुँच सडक खोल्नु पर्ने आवश्यकताको महशुस भएमा नगरपालिकाको स्वीकृत लिएर मात्र ट्रयाक ओपन गर्न अनुमति दिने निर्णय पनि बैठकले गरेको नगरप्रबक्ता फूर्वा ग्याल्जेन शेर्पाले जानकारी दिए।
बैठकले जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी वर्षादको समयमा नगरपालिका क्षेत्रको कालोपत्रे सडकमा ट्रयाक्टर र कच्ची सडकमा १० चक्के ट्रक तथा ट्रयाक्टर सञ्चालनमा रोक लगाउने निर्णय पनि गरेको छ।
यसैगरी,बैठकले नगरपालिका क्षेत्रभित्र विकास निर्माणबाट उत्सर्जन भएका फोहोरमैलाको उचित व्यवस्थापनको लागि सम्बन्धित निर्माण व्यवसायी र उपभोक्ता समिति मार्फत नै व्यवस्थापन हुन निर्देशन दिने तथा नगरपालिकास्थित निजी तथा सामुदायिक विद्यालयहरुले आफ्नो शैक्षिक क्यालेण्डरमा वातावरण सरसफाई समावेश गरी कम्तीमा महिनाको १ दिन विद्यालय क्षेत्रभित्र र आसपास फोहोर मैला नियन्त्रण,व्यवस्थापन तथा सरसफाई अभियान सञ्चालन गर्न निर्देशन दिने निर्णय गरेको छ ।
शिक्षक महासङ्घको आह्वानमा सञ्चालन भई रहेको आम हड्तालको नगरपालिकाद्वारा समर्थन गर्दै बैठकले सबै शिक्षकहरु आम हड्तालमा काठमाडौंमा सहभागी हुँदा बैशाख १ गते देखि १५ गतेसम्म सञ्चालन हुने विद्यार्थी भर्ना अभियान प्रभावित हँदा विद्यार्थीहरुको शिक्षा सम्बन्धी मौलिक हक हनन भएको हुँदा स्मरण गराउँदै शैक्षिक क्यालेण्डर अनुसार विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न निर्देशन दिने निर्णय बैठकले गरेको प्रबक्ता शेर्पाले बताए।
नगरपालिका स्थायी ठेगाना भई विभिन्न रोग,अशक्त,वृद्ध तथा अपाङ्गता भएका कारण सेवा लिन वडा कार्यालय तथा नगरपालिका उपस्थित हुन नसकेका सेवाग्राहीहरुलाई लक्षित गरी २०८२ जेठ पहिलो हप्ता काठमाडौंमा एकीकृत शिबिर सञ्चालन गरी सेवा प्रवाह गर्ने देखि कृषि उत्पादनलाई बृद्धि गर्न तथा कृषिमा युवाहरुलाई उत्प्रेरणा जगाई सहभागी गराउन नगरपालिकाको कृषि उत्पादन हुने वडाहरुलाई क्रमश: कृषि यन्त्रीकरण कार्यक्रम सञ्चालन गर्ने र चालु आ.व. २०८१।०८२ मा उक्त कार्यक्रम वडा नं. ८ र ११ मा कार्यान्वयन गर्ने र चालु आर्थिक वर्षमा कार्यान्वयनमा रहेका आयोजना तथा कार्यक्रमहरु सम्झौतावधिभित्रै सम्पन्न गर्न सम्बन्धित उपभोक्ता समिति,निर्माण व्यवसायी तथा लाभग्राही समुदायलाई निर्देशन दिने निर्णय गरेको प्रबक्ता शेर्पा द्वारा जारी बिज्ञप्तिमा उल्लेख छ।

