लिङ्देनले भने- ‘भोलि तपाईंहरु नै बस्ने हो,कारागारहरु सफा गरिराख्नुस्’



काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले मुलुकमा लुटतन्त्र मच्चाईरहेका गणतन्त्रबादी नेताहरु जेल बस्नुपर्ने दिन अवश्य आउने बताएका छन्।

मंगलबार काठमाडौंको बल्खुमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै लिङ्देनले सो कुरा बताएका हुन्।उनले पछि आफैं बस्नुपर्ने भन्दै देशका कारागारहरू सुविधाजनक बनाएर राख्न गणतन्त्रवादी नेताहरूलाई सुझाव पनि दिए।‘तपाईंहरूले देशमा लुटतन्त्र मच्चाएर राख्नुभएको छ, त्यसलाई राम्रोसँग हेरेका छौं। तपाईंहरू जेल राम्रो बनाएर राख्नुस्, पछि आफू नै बस्ने हो। त्यो दिन आउँछ आउँछ’,उनले भने।

सभालाई सम्बोधन गर्दै उनले शान्ति र अहिंसाप्रतिको आफ्नो विश्वासलाई कमजोरी नठान्न पनि चेतावनी दिए।‘राप्रपा आज बल्खु जाउ भन्यो बल्खुमै आयो कमजोर भयो नठान्नुहोला । अर्कोचोटि सिफल आउ भनौला, अर्कोचोटि कलंकी जाउ भनौंला यो नठान्नू, राप्रपा भाग्यो नठान्नू,’ लिङ्देनले भने, ‘शान्ति अहिंसाप्रतिको हाम्रो विश्वासलाई कमजोरी नठान्नु । हामी पछि हटेको होइन, याद गर्नु, आज देश दुनियाँले तपाईंको गणतन्त्र कति लुरे रहेछ, कति कमजोर रहेछ देख्न पाए । त्यही देखाउन हामी यहाँ आएका हौं ।’

वर्तमान सरकार नसुध्रिए बालुवाटार घेरेर भातपानी बन्द गरिदिने उनले बताए।‘म फेरि पनि भन्छु, नसुध्रने हो भने हामी पनि गोली चलाउँछौं त भन्दिनँ। बालुवाटार घेरेर भात पानी बन्द गरिदिन सक्छौं ,’ लिङ्देनले भने, ‘यो कुरा याद राख ।’उनले चैत १५ गते राज्यका तर्फबाट हिंसा भड्काएको भन्दै राप्रपा कुनै पनि प्रकारको हिंसामा विश्वास नगर्ने बताए।

चैत १५ को घटनामा भएको क्षतिप्रति अहिलेका प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुख जिम्मेवार रहेको भन्दै उनले थपे, ‘त्यो हिंसा राज्यका तर्फबाट भड्काइएको थियो। त्यो भन्न कुनै आपत्ति छैन।’उनले राजादेखि गणतन्त्रवादीहरूसम्म अटाउने गरी मौलिक व्यवस्था निर्माण गरिनुपर्नेमा जोड दिए । राजा अभिभावक र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री तथा हिन्दू राष्ट्र हुनुपर्ने उनले माग गरे।

प्रतिक्रिया दिनुहोस्