रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल



काठमाडौँ । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ। ९७ वर्षको उमेरमा बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा शनिबार बिहान उनको निधन भएको हो।

मुटु र फोक्सोसम्बन्धी समस्याका कारण केही समयदेखि अस्पतालमा उपचाररत रहेकामा स्वास्थ्य निरन्तर कमजोर बन्दै गएपछि उनको निधन भएको हो। रिसालका भाइ पुरु रिसालका अनुसार पछिल्ला दिनमा उनको अवस्था जटिल बन्दै गइरहेको थियो।

वि.सं. १९८५ साउन २९ गते भक्तपुरको ताथलीमा जन्मिएका रिसाल नेपाली पत्रकारिता र समाजसेवामा समर्पित नाम हो। पत्रकारिता, साहित्य, मानवअधिकार र वातावरण संरक्षणका क्षेत्रमा उनले पुर्‍याएको योगदान उल्लेखनीय छ।

रिसालले राष्ट्रिय समाचार समिति (रासस) मा प्रमुख समाचारदाताका रूपमा कार्य गरेका थिए। पत्रकारिता सुरु गर्नु अघिसम्म उनले तथ्याङ्क विभागमा सेवा गरेका थिए। रेडियो सगरमाथामा लामो समयसम्म प्रसारण भएको लोकप्रिय शृङ्खला ‘उहिले बाजेका पालामा’ उनको आवाजमा प्रस्तुत हुने गर्थ्यो।

साहित्यिक सिर्जनामा पनि उत्तिकै सक्रिय रहँदै उनले ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ र ‘भैरव दाइ’ लगायतका कृतिहरू प्रकाशित गरेका छन्।

वामपन्थी विचारधारामा विश्वास राख्ने रिसाल वि.सं. २०४८ को संसदीय निर्वाचनमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट भक्तपुरबाट उम्मेदवार बनेका थिए।

स्व. रिसालका श्रीमती, दुई छोरा र दुई छोरी छन्।

प्रतिक्रिया दिनुहोस्