चार महिनापछि कार्यालय प्रवेश गरे गुराँगाई, काठमाडौं महानगरमा तनाव



काठमाडौं,२१ चैत।काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं महानगरपालिका कार्यालय फर्किएका छन्। नगरप्रहरीको अवरोधका बिच उनलाई कर्मचारीहरूले पहरा दिएर कार्यकक्षसम्म पुर्‍याएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा तलब रोकिएपछि रुष्ट बनेका महानगरका कर्मचारीले तैनाथ महानगर प्रहरीका बिच प्रमुख प्रशासकीय सरोज गुरागाईँलाई कार्यकक्षमा पुर्‍याए । उनी करिब ४ महिनापछि कार्यालयमा प्रवेश गरेका हुन् ।

आज हाजिर हुन महानगरपालिका पुगेका गुरागाईंलाई नगर प्रहरीले गेटमै अवरोध गर्न खोजेपनि कर्मचारीहरूले रोक्न नदिइ उनलाई कार्यालय प्रवेश गराएका हुन् । गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो ।

पुरानो बसपार्कमा काठमाडौं टावरको नक्सा नियमविरीत पास गर्ने प्रक्रिया अगाडि बढाएपछि गुरागाईंलाई महानगरले जिम्मेवारीबाट हटाएको थियो।

आन्दोलित कर्मचारीले भने बालेनले सामाजिक सञ्जालमा स्टाटस लेखेको भरमा महानगर नचल्ने चेतावनी दिएका छन्। महानगरका कर्मचारी नरबहादुर साउदले मेयर शाह कर्मचारीका समस्या समाधान गर्नु्को सट्टा सामाजिक सञ्जालमा स्टाटस लेख्दै हिँडेको आरोप लगाए। उनले भने,’मेयरसावले स्टाटस लेख्दैमा महानगर चल्दैन। समस्या समाधानतिर लाग्नुहोस्।’

कर्मचारीहरूले कार्यपालिकाका वडा अध्यक्ष, सदस्य र उपमेयर आफ्नो पक्षमा रहेको दावी गरेका छन्। उनीहरूले प्रशासकीय अधिकृतलाई आजै हाजिर गराए रोकिएको सबै तलब निकासा हुने उल्लेख गरे। लामो समयदेखि तलब नपाएपछि आन्दोलनमा उत्रिनु आफूहरूको बाध्यता रहेको उनीहरूको भनाइ छ।

अहिले उपमेयरसहित प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारी हलमा छन्।

प्रतिक्रिया दिनुहोस्