शान्तिपूर्ण आन्दोलनमा सत्ताधारीको घूसपैठ भएको राजसंस्था पुनस्थापना आन्दोलन समितिको आरोप
काठमाडौं,१५ चैत । संयुक्त जनआन्दोलन परिचालन समितिका राजसंस्था पुनर्स्थापनाका लागि शुरु भएको शान्तिपूर्ण जनआन्दोलनमा सत्ताधारीहरुबाट घुसपैठ भएको दाबी गरेको छ।

संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपालले विज्ञप्ति जारी गर्दै सो दावी गरेका हुन्।आजको सम्पूर्ण घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताउंदै आन्दोलन अब सरकारले तोकिदिएको क्षेत्रमा मात्रै सीमित नरहने पनि समितिको चेतावनी छ ।
तत्कालीन राष्ट्रय पञ्चायतका पूर्व अध्यक्ष नवराज सुवेदीको नेतृत्वमा रहेको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले देश संक्रमणकालमा प्रवेश गरेको उद्घोष पनि गरेको छ । आज (शुक्रबार) प्रदर्शनको क्रममा भएको झडप र त्यसबाट उत्पन्न भएको परिस्थितिलाई उल्लेख गर्दै समितिले अब स्थिति थप भयावह हुने निश्चित रहेको बताएको छ ।
उनले भनेका छन्, ‘आजदेखि देश संक्रमणकालमा प्रवेश गरेको छ । गणतन्त्र कागजमा मात्र सीमित रहेको छ । यस अवस्थालाई ध्यानमा राखी पूरानो संसदीय व्यवस्थावादीहरुले नयाँ सहमतिको मार्ग प्रशस्त नगर्ने हो भने स्थिति थप भयावह हुने निश्चित रहेकोले तत्काल सर्वपक्षीय वार्ता र संवादमार्फत अघि बढ्न, राष्ट्रिय अन्तराष्ट्रिय मानव अधिकारवादी संघसंस्थाहरु समेतलाई स्थितिको गम्भीर र विवेकपूर्ण पर्यवेक्षण गरिदिन समेत आह्वान गर्दछौं ।’
साथै, उनले समितिले घाइते आन्दोलनकारी, प्रहरीहरुको तत्काल निःशुल्क उपचार गर्न तथा क्षति पुगेका व्यवसायीहरुका लागि क्षतिपूर्तिको तत्काल व्यवस्था गर्ने सरकारलाई भनेको छ ।

