नेपाल-जापान सम्बन्ध घनिष्ठ र सौहार्दपूर्ण : रक्षामन्त्री राई



काठमाडौं। रक्षामन्त्री मानवीर राईसँग नेपालका लागि जापानका नवनियुक्त आवासीय राजदूत मेदा टोरुले रक्षा मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ।

बुधबार भएको भेटका अवसरमा नेपाल र जापानबीच दशकौंदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ बनाउँदै द्विपक्षीय हितलाई थप प्रवर्द्धन गर्ने विषयमा छलफल भएको मन्त्रालयका प्रबक्ता मनोज कुमार आचार्यले जानकारी दिनुभयो।

रक्षामन्त्री राईले राजदूतलाई मन्त्रालयमा स्वागत गर्नुहुँदै नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता सरकारी स्तरमा मात्र नभई जनस्तरमा समेत घनिष्ठ र सौहार्दपूर्ण सम्बन्ध रहेको र यो सम्बन्ध दिनानुदिन प्रगाढ बन्दै गएको कुरा बताउनुभयो। उहाँले जापान नेपालको एउटा पुरानो, भरपर्दो र असल मित्र भएको कुरा उल्लेख गर्नुहुँदै नेपालमा सडक पूर्वाधार, जलविद्युत्, कृषि, स्वास्थ्य सूचना प्रविधि लगायतको क्षेत्रको विकासका लागि जापान सरकारले उपलब्ध गराएको महत्त्वपूर्ण सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो। साथै, आगामी दिनमा पनि जापान सरकारबाट यस किसिमको सहयोग उपलब्ध भइरहने विश्वास व्यक्त गर्नुभयो।

मन्त्री राईले जापानमा हालका वर्षहरूमा विभिन्न पेसा व्यवसायमा नेपालीहरूको संख्या र उपस्थिति बढ्‌दै जानुले पनि दुई देशबीचको सौहार्दपूर्ण सम्बन्ध दिनानुदिन बलियो बन्दै गएको कुरालाई पुष्टि गर्छ भन्नुहुँदै नवनियुक्त जापानी राजदूतको नेपाल बसाइ सफल र स्मरणीय रहोस् भन्ने कामना गर्नुभयो।

शिष्टाचार भेटका क्रममा जापानका राजदूत मेदा टोरुले मन्त्रालयमा न्यानो स्वागतका लागि हार्दिक धन्यवाद व्यक्त गर्नुहुँदै जापान र नेपाल दुई देशबीच रहँदै आएको सुमधुर सम्बन्धलाई आफ्नो कार्यकालमा अझ घनिष्ठ बनाउन सक्दो प्रयास गर्ने कुरा बताउनुभयो। नेपालको आर्थिक सामाजिक विकासमा जापानले विगतदेखि उपलब्ध गराउँदै आएको सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिन आफ्नो तर्फबाट सहयोग गर्ने कुरा व्यक्त गर्नुहुँदै राजदूत टोरुले नेपालले संयुक्त राष्ट्रसंघको आह्वानमा विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति सैनिक खटाई विश्वशान्ति स्थापना कार्यमा पुऱ्याएको योगदानको प्रशंसा गर्नुभयो।

उक्त शिष्टाचार भेटका अवसरमा रक्षा मन्त्रालय तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरूका साथै जापानी राजदूतावासका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्