यौन ब्यबसायलाई व्यावसायिकरण गर्नुपर्ने प्रस्ताव गरेका कांग्रेस प्रमुख सचेतक घिमिरेले मागे माफी



काठमाडौं।यौन व्यवसायलाई व्यवसायीकरण गर्ने प्रस्ताव संसद बैठकमै राखेपछि बिबादित बनेका नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले माफी मागेका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले आफूले गत चैत ३ गतेको संसद् बैठकमा राखेको उक्त कुराले परेको नकरात्मक असरप्रति क्षमायाचना गर्दै माफी मागेका हुन्।

घिमरेको उक्त अभिव्यक्तिमाथि सर्वत्र आलोचना भएको थियो। उनले सो धारण नेपाली कांग्रेस र कांग्रेस संसदीय दलको धारणा नभएर नितान्त निजी विचार रहेको पनि बताए । ‘यही चैत ३ गते विशेष समयमा मैले अभिव्यक्त गरेको धारणा एउटा सांसदको हैसियतले विशेष सन्दर्भमा राखेको व्यक्तिगत धारणा हुन् । यो धारणा नेपाली कांग्रेस पार्टी र संसदीय दलको आधिकारिक धारणा पनि होइन । यी विचारहरुले सम्मानित संसद्का सदस्यहरु एवं जनसमुदायमा समेत केही नकरात्मक प्रभाव परेको भए म उहाँहरुको सम्मान गर्दै उहाँहरुसँग क्षमा याचना गर्न चाहन्छु,’– उनले भने ।

देशमा पर्यटन प्रवर्धनका लागि गर्न सकिने केही विषयहरुको जानकारी गराउँदै उनले गत चैत ३ गतेको संसद् बैठकमा भनेका थिए, ‘धार्मिक क्षेत्रमा पूर्ण रुपले मदिरा, मासुजन्य पदार्थहरु प्रतिबन्ध गर्नुपर्छ । तर, हामीले व्यवसायिक रुपमा यसको विकास पनि गर्नुपर्छ । त्यसको लागि निश्चित् ठाउँहरु तोकेर जानुपर्छ । मदिराको लागि छुट्टै, मनरोञ्जनको लागि पनि छुट्टै ठाउँको व्यवस्था गर्नुपर्छ । मैले त बारम्बार भन्ने गरेको छु यौन व्यवसायलाई पनि व्यवसायिकरण गरौं । जसले यो मुलुकमा पर्यटकको संख्यालाई बढाउनेछ ।’

प्रतिक्रिया दिनुहोस्