राजतन्त्र पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका बिषयमा आज छलफल गर्दै राप्रपा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार बस्दैछ।

बैठकमा राजसंस्था पुनस्थापनाका लागि सोमबार गठन भएको नवराज सुवेदी नेतृत्वको ‘राजतन्त्र पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का विषयमा छलफल हुने बताईएको छ ।

समितिको निर्देशक समितिमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि राखिएको छ। आफूसँग सल्लाहविनै समिति बनाइएको र आफूलाई राखिएको भन्दै लिङ्देनले असन्तुष्टि जनाएका छन्।

राप्रपाका पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी, धवलशमशेर राणा र रवीन्द्र मिश्र पनि समिति छन्। उनीहरूले भने समितिलाई पनि स्वीकार गरेका छन्।

आइतबार बसेको कार्यसम्पादन समिति बैठकमा पनि यो विषयमा सामान्य छलफल भएको थियो। छलफल नसकिएपछि मंगलबार पनि बस्ने भनेर बैठक सकिएको थियो।

उता,कमल थापा नेतृत्वको राप्रपा नेपालले पनि आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठकमा सोमबार घोषणा भएको ‘राजतन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ बारे छलफल हुनेछ । उक्त समितिको निर्देशक समितिमा कमल थापालाई पनि राखिएको छ । तर, सो समितिमा आफू रहेको बारे जानकारी नभएको थापाले बताएका छन् । सो समितिलाई स्वीकार गर्ने या नगर्ने भन्नेबारे आजको बैठकले टुंगो लगाउने बर्तौलाले बताए । यसबाहेक बैठकमा आन्दोलनको स्वरुप र भावी रणनीति निर्माणको विषयमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्