जनता परिवर्तनको पक्षमा उभिएपछि प्रचण्ड अत्तालिएर सन्तुलन गुमाए : राप्रपा



काठमाडौं । नेपाली जनता परिवर्तनको पक्षमा उभिएपछि ‘अत्तालिएर सन्तुलन गुमाएका’ नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राजा ज्ञानेन्द्रमाथि ‘तुच्छ,अमर्यादित,बिना प्रमाणको लाञ्छना’ लगाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले घोर भर्त्सना गरेको छ ।‘राप्रपा मुकदर्शक भएर बस्ने छैन,’ भन्दै दाहाललाई यस किसिमको ‘गैरजिम्मेवार र पूर्वाग्रही’ अभिव्यक्ति नदोहोर्‍याउन राप्रपाले चेतावनी दिएको छ ।

राप्रपाका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवल शम्शेर राणाको अध्यक्षतामा शनिबार केन्द्रीय कार्यालयमा बसेको आन्दोलन परिचालन समितिको वैठकको निर्णयमा यसो भनिएको छ ।

राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले बताए अनुसार आन्दोलन परिचालन समितिको निर्णयमा भनिएको छ, ‘चैत्र १ गते नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राजा ज्ञानेन्द्रलाई इंगित गर्दै तुच्छ अमर्यादित, बिना प्रमाणको आरोप लाञ्छना लगाएकोमा राप्रपा आन्दोलन परिचालन समिति घोर भत्र्सना गर्दछ ।’

‘नेपाली जनता परिवर्तनको पक्षमा देखिएपछि अत्तालिएर पुष्पकमल दाहालले सन्तुलन गुमाएको आम नेपाली जनताले राम्ररी बुझेका छन्,’ राप्रपा आन्दोलन परिचालन समितिको ठहर छ । ‘परिवर्तन देश र समयको आवश्यकता हो, परिवर्तन निश्चित छ ।’

प्रतिक्रिया दिनुहोस्