वरिष्ठ कवि एबम् गीतकार रिजाल’रेखा-पवन स्रष्टा सम्मान’बाट सम्मानित 



काठमाडौं । नेपाल स्रष्टा समाजले बरिष्ठ कवि एवं गीतकार कालीप्रसाद रिजाललाई ‘रेखा-पवन स्रष्टा सम्मान’ बाट सम्मानित गरिएको छ।

बरिष्ठ साहित्यिक पत्रकारद्वय रोचक घिमिरे र नगेन्द्रराज शर्मा, समाजका अध्यक्ष श्रीओम श्रेष्ठ’रोदन’ तथा पुरस्कारका संस्थापक मध्येकी रीता कँडेल बस्नेत लगायतले शनिबार आयोजित कार्यक्रममा रिजाललाई नगद १ लाख एक सय एघार राशी सहित
सम्मानित गर्नुभएको हो।

नेपाली साहित्यमा पाँच दशकभन्दा बढी समयदेखि कविता र गीति क्षेत्रमा रिजालले पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै उक्त सम्मान अर्पण गरिएको हो ।रेखा-पवन स्रष्टा सम्मानको लागि बरिष्ठ साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेको संयोजकत्वमा नाम सिफारिस समिति गठन गरिएको थियो ।

यसैगरी सम्मानित स्रष्टा रिजालले साहित्य भावनात्मक अभिव्यक्ति गर्ने माध्यम साहित्य भएको बताउँदै आफ्ना अनुभवहरू सुनाउनु भयो । रिजालले ‘जागीरले बाँध्न खोज्ने अनि लेखनीले उन्मुक्त हुन खोज्दोरहेछ । धेरै पटक विगतमा सत्ताको धरपकडमा परेको छु।’ भन्नु भयो । रिजालले देशप्रेमले ओतप्रोत ‘कमसेकम’ शिर्षकको शक्तिशाली कविता पनि वाचन गर्नुभयो ।

कार्यक्रममा साहित्यिक पत्रकार रोचक घिमिरेले रिजाललाई पहिलो पटक बनारसमा भेटेको प्रसङ्ग  सुनाउँदै आफ्नो विचार राख्नुभयो ।
कार्यक्रममा नगेन्द्रराज शर्माले योग्य व्यक्तिलाई चयन गरेकोमा आफूलाई खुशी लागेको बताउनुभयो ।

कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले- ‘मरेपछि कसैलाई सम्मान गर्नुभन्दा जिउँदो हुँदै योगदानको सम्मान गर्नुपर्छ’ भन्दै पुरस्कारका संस्थापकहरूप्रति धन्यवाद ज्ञापन गर्नु भयो ।

यसैगरी पुुरस्कार संस्थापक रीता कँडेल बस्नेतले आफ्नो मन्तव्य राख्नु भयो । उहाँले मन्तव्यको क्रममा पिता पवन आलोक र माता रेखा कँडेलको वैवाहिक वार्षिकोत्सवको दिन उक्त पुरस्कार प्रदान गर्नेगरी अक्षयकोष स्थापना गरेको जानकारी दिनु भयो ।

कार्यक्रममा सम्मानित स्रष्टाको व्यक्तित्वबारे समाजका उपाध्यक्ष डा.सदानन्द कँडेलले चर्चा गर्नुभएको थियो ।

समाजकी कोषाध्यक्ष तारा सुवेदीले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रममा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम समाजका महासचिव देविका तिमल्सिनाद्वारा सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्