एमालेले जनसंगठनमा घटायो पदाधिकारी, स्थायी कमिटी पनि नरहने
काठमाडौं। नेकपा एमालेले जनसंगठनमा स्थायी कमिटी नरहने निर्णय गरेको छ। आइतबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी र सचिवालय मात्रै रहने निर्णय गरेको हो।

सचिवालय बैठकको निर्णय सुनाउदै महासचिव शंकर पोखरेलले भने,‘जनसंगठनमा केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालय रहने व्यवस्था थियो। स्थायी कमिटीको व्यवस्था अन्त्य गरेर केन्द्रीय कमिटी र सचिवालय मात्रै रहने निर्णय गरेका छौं।’
साथै कमिटीको संख्या घटाउने निर्णय पनि उनले बताए। जनसंगठनले आफ्नो विधानबाट यो निर्णय कार्यान्वयन गर्ने उनको भनाइ छ। एमालेले जनसंगठनको केन्द्रीय कमिटी ९९ देखि १५० जनासम्मको बनाउने र सबै जनसंगठनका पदाधिकारी ९ जनामा सीमित गर्ने निर्णय गरेको छ।
बैठकको निर्णय सुनाउँदै पार्टीका महासचिव शंकर पोखरेलले अध्यक्ष एकजना, उपाध्यक्षमा एकजना महिलासहित २ जना, महासचिव एकजना, उपमहासचिव १ जना र सचिवहरुलाई जिम्मेवारी दिनेगरी (प्रचार, विदेश मामिला र संगठन हेर्नेगरी र आर्थिक जिम्मेवारी हेर्नेगरी कोषाध्यक्षको व्यवस्था गर्ने) ९ जना पदाधिकारी रहने बताए।
बैठकले स्थानीय विकास विभागको सचिवमा नवराज गेलाल र प्रचार तथा प्रकाशन विभागको सचिवमा गणेश पाण्डेलाई मनोनयन गर्ने निर्णय गरिएको महासचिव पोखरेलले बताए।
नीति कार्यक्रम र बजेटका सन्दर्भमा छलफल गर्ने प्रयोजनका लागि स्थानीय तहका जनप्रतिनिधिहरु पालिका प्रमुख, अध्यक्ष, उपप्रमुख र उपाध्यक्षसमेतको सहभागितामा चैतभित्र राष्ट्रिय भेला गर्ने निर्णय पनि बैठकले गरेको छ।
प्रदेशका हकमा नीति, कार्यक्रम र बजेटका सन्दर्भमा छलफल गर्न प्रदेशमा रहेका मुख्यमन्त्री, मन्त्रीहरु र दलका नेताहरु र प्रमुख सचेतक, प्रदेश इन्चार्जसहितका प्रदेशका पदाधिकारीहरु रहेको संयुक्त भेला आयोजना गर्ने निर्णय गरेको छ।
‘अहिलेसम्म केन्द्रीय पदाधिकारीको संख्या १७ रहेकोमा पदाधिकारीको संख्यालाई ९ मा सीमित गर्ने। त्यसमा अध्यक्ष एकजना, उपाध्यक्षमा एकजना महिलासहित २ जना‚ महासचिव एकजना, उपमहासचिव १ जना, सचिवहरु परिहासित कामको जिम्मा दिनेगरी प्रचार, विदेश मामिला र संगठन हेर्नेगरी र आर्थिक जिम्मेवारी हेर्नेगरी कोषाध्यक्षको व्यवस्था गर्नेगरी ९ जना पदाधिकारी रहने‚’ उनले भने, ‘संगठनको डायर २ भन्दा बढी रहेकोमा २ वटामा सीमित गर्ने। केन्द्रीय कमिटी र केन्द्रीय सचिवालय मात्रै रहनेगरी नियमावलीमा व्यवस्था गर्ने प्रश्ताव स्वीकृत भएको छ।’
त्यस्तै बैठकले एमाले नेताले विदेश भ्रमण जानुपूर्व पार्टीसँग अनुमति लिनुपर्ने, फर्किएपछि रिपोर्ट तयार पार्नुपर्ने निर्णय पनि गरेको महासचिव पोखरेलले जानकारी दिएका छन्।
पार्टी स्थापनाको ७६औँ वर्षलाई कम्युनिष्ट योद्धा सम्मान गर्ने प्रयोजनका लागि प्रत्येक प्रदेशबाट १/१ जना कम्युनिष्ट योद्धा पहिचान गरी पठाएको सिफारिसअनुसार पार्टी स्थापनाको दिन सम्मान गर्ने निर्णय पनि बैठकले गरेको छ।

