माओवादीले परिवर्तन गर्‍यो ‘तराई–मधेस जागरण अभियान’ को तालिका



काठमाडौँ । नेकपा माओवादी केन्द्रले फेरि‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ को समय तालिका परिवर्तन गरेको छ।

फागुन १२ गते झापापछि मोरङमा फागुन १३, सुनसरीमा फागुन १५, सप्तरीमा फागुन १६ र फागुन १७ गते सिरहामा कार्यक्रम सम्पन्न गरिसकेको माओवादी केन्द्रले सर्कुलर जारी गरेर तालिका परिवर्तन गरेको जनाएको हो।यसअघि शनिबार सर्लाहीदेखिका कार्यक्रम १/१ दिन पछि सारेर तालिका हेरफेर गरेको थियो।

धनुषामा आइतबार कार्यक्रम तय भएको छ । यस्तै फागुन २० गते अध्यक्ष प्रचण्ड थारु मोर्चाको सम्मेलनको उद्घाटन गर्न कैलालीको टिकापुर जाने तय भएको छ भने त्यसपछि २२ गतेदेखि मात्रै महोत्तरीबाट अभियान सञ्चालन हुनेगरी कार्यक्रम तय भएको एक नेताले बताए।

‘२०८१/११/०५ र २०८१/११/१७ गते जारी गरिएको जनतासँग माओवादीः तराई–मधेश जागरण अभियान सम्बन्धी कार्यक्रमको कार्यतालिकामा महोत्तरीदेखि पश्चिममा अभियानका कार्यक्रम स्थानीय पर्व तथा पार्टीका विभिन्न जनसंगठनका भेला लगायतका अन्य कार्यक्रम परेका कारण अभियानको कार्यतालिका परिवर्तन गरिएको छ’, माओवादीले मातहतका कमिटीमा पठाएको नयाँ सर्कुलरमा भनिएको छ ।

जसअनुसार महोत्तरीमा फागुन २२ गते अभियान भएर सर्लाहीमा फागुन २३, रौतहट– फागुन २४, बारामा फागुन २५, पर्सामा फागुन २६, चितवनमा फागुन २७ गते अभियान सञ्चालन हुनेछ । यस्तै मगर मोर्चाको उद्घाटन बुटवलमा फागुन२८ हुने छ भने त्यसपछि नवलपुर (नवलपरासी पूर्व) मा चैत्र २, परासी (नवलपरासी पश्चिम)मा चैत्र ३, रुपन्देहीमा चैत्र ४, कपिलवस्तुमा चैत्र ५, दाङमा चैत्र ६, बाँकेमा चैत्र ७ र बर्दियामा चैत्र ८ गते अभियान सञ्चालन हुनेछ ।

चैत ९ गते समाजवादी मोर्चाको जनकपुरमा जनसभा हुने तय भएकाले सो दिन अभियान सञ्चालन हुनेछैन । यसैगरी कैलालीमा चैत्र ११ गते र कञ्चनपुरमा चैत्र १२ अभियान सञ्चालन भएर सकिनेछ । यसअघि चैत ७ मै सकिने भनिएको अभियान अब १२ गतेमात्रै सकिने भएको माओवादीको भनाइ छ ।

अभियानको स्वरूप जनसभा, चोकसभा, अन्तर्क्रिया, जनभेटघाट आदि रहेका छन् । अभियानको क्रममा कार्यक्रम गर्ने स्थानहरूको निर्धारण सम्बन्धित प्रदेश तथा जिल्लाहरूले तय गरेबमोजिम भएका छन् भने कार्यक्रम तय गर्दा सामान्यतः बिहान, दिउँसो र बेलुका गरी बढीमा तीन स्थानसम्म स–साना कार्यक्रमहरू आयोजना गर्ने गरिएको माओवादीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्