शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसार आज मनाईंदै,प्रधानमन्त्री ओलीद्वारा शुभकामना व्यक्त



काठमाडौँ । शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसार आज विविध कार्यक्रम गरी धुमधामका साथ मनाइँदै छ । शेर्पा समुदायले आफ्नो नयाँ वर्षाको रुपमा मनाउने यस ल्होसारको विशेष महत्त्व रहेको छ ।

यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। ग्लाल्पो लोसार बौद्ध धर्मावलम्बीको पर्व हो । नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार बनाउने गरेका छन् ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्षमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व हो ग्याल्पो ल्होसार। नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५१ औँ ग्याल्पो ल्होसार आज बाघ वर्षलाई बिदाइ गरी खरायो वर्षलाई स्वागत गर्छन् । ल्होसार शब्दले नयाँ वर्ष बुझाउँछ ।

ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरेर भव्यरुपमा मनाउने परम्परा शेर्पा समुदायमा छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो ।

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार अहिले २२ जिल्लासँगै भारत, भुटानलगायत विभिन्न देशमा मनाइन्छ । शेर्पा जातिको बसाइँसराइसँगै यो पर्व मनाउने जिल्ला र देश बढेका छन् ।

आज बौद्ध स्तूप र शेर्पा सेवा केन्द्रमा पूजाआजा गरिन्छ । पूजा आराधनासँगै शेर्पा समुदायको सांस्कृतिक नाच एवं वेशभूषा प्रदर्शन हुने गरी कार्यक्रमको आयोजना गरिन्छ ।

ग्याल्पो ल्होसार शेर्पा समुदायले विविध कार्यक्रम आयोजना गरी १५ दिन अर्थात् फागुन शुक्ल पूर्णिमासम्म मनाउँछन्।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले ग्याल्पो ल्होसारको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकबाट उनले यो पर्व मनाउने सबैमा हार्दिक शुभकामना व्यक्त गरेका हुन्।

‘आज ग्याल्पो ल्होछार,नेपालको उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको मुख्य पर्व, तिब्बत, सिक्किम र भुटानमा बसोबास गर्ने भोटे समुदाय समेतले ग्याल्पो ल्होछार मनाउँछन्। ग्याल्पो ल्होछारको अवसरमा सबैलाई शुभकामना! सबैको जय होस्’, पृष्ठभूमिमा हिमाल पारेर शेर्पा समुदायको परम्परागत पोसाक लगाएका एक महिला र पुरुषको तस्बिर फेसबुकमा पोष्ट गर्दै प्रधानमन्त्रीले लेखेका छन्। तस्बिरमा ‘ह्याप्पी ल्होसार’ पनि लेखिएको छ।

प्रतिक्रिया दिनुहोस्