जिउँदो बाघसंग लडेको योद्दालाई नजिस्काउन माओवादी नेता ‘सुरबीर’ को चेतावनी
सोलुखुम्बु।नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमकुमार राई ‘सुरबीर’ ले हिजो राजासँग मिलेर माओवादी सखाप बनाउने अभियानमा लागेका दलहरुले अहिले माओवादीलाई जिस्काउन थालेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

राजसंस्था र गणतन्त्रको सन्दर्भमा माओवादी केन्द्रलाई जोडेर आईतवारको प्रतिनिधिसभा बैठकमा एमाले नेता गोकुल बास्कोटाले दिएको अभिव्यक्तिको प्रतिउत्तर दिँदै केन्द्रीय सदस्य राईले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका हुन्।कांग्रेस एमाले लगायतका दलहरु मरेको बाघको जुँगा उखेलेर गणतन्त्रबादी भएको टिप्पणी गर्दै उनले माओवादी पार्टी राजतन्त्र बिरुद्द जनमुक्ति सेना निर्माण गरेर लडेको पार्टी भएको स्मरण गराउंँदै जिंउदो बाघसंग लडेको योद्दालाई नजिस्काउन चेतावनी समेत दिएका छन् ।
आजको गणतन्त्रका लागि दशौं हजारले बलिदान दिएको,हजारौ योद्दा घाइते अपाङ्ग र बेपत्ता हरुको योगदानको बाबजुद प्राप्त भएको उल्लेख गर्दै उनले प्रश्न गरेका छन्,- ‘वर्तमान सत्ताधारी दलहरुले राजाको पाउमा भेटी चढाउँन छोडेको कति भो ? त्यही १५ / १६ बर्ष होइन ?’
उनले सामाजिक सञ्जालमा भनेका छन्:
मरेको बाघको जुङ्गा उखेलेर गणतन्त्रबादी भै टोपलेका ले जिउदो बाघ संग लडेको योद्दा लाई नजिस्काउदा हुन्छ । संसद बैठक मा एक सत्ताधारी संसद ले गणतन्त्रको बिषय लाइ लिएर माओवादी को कित्ता क्लियर के हो ? प्रश्न उठाएको सुनियो । माओवादी पार्टी राजतन्त्रको बिरुद्द मा जनमुक्ती सेना निर्माण गरेर लडेको पार्टी हो । दसौ हजार ले बलिदान दिएको हजारौ योद्दा घाइते अपाङ्ग र बेपत्ता हरुको योगदान को बाबजुद प्राप्त आजको गणतन्त्र हो । वर्तमान सत्ताधारी दलहरुले राजतन्त्र राजाको पाहु मा भेटि चढाउन छोडेको कति भो ? त्यही 15/16 बर्स होइन ? माओवादी लाइ आतङ्ककारी घोषणा गर्ने राजा संग मिलेर माओवादी सखाप गर्ने हरु गणतन्त्र को बारे माओवादी संग प्रश्न गर्ने हैसियत र नैतिकता अहिलेका सत्ताधारी संग किमार्थ छैन ।

