पूर्वराजा ज्ञानेन्द्रको आव्हानको स्वागत र समर्थनमा विभिन्न ठाउँमा दीप प्रज्वलन
काठमाडौं । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा भिडियो सन्देशमार्फत राष्ट्र जोगाउन पूर्वराजा ज्ञानेन्द्रले देशवासीलाई गरेको आह्वानको स्वागत र समर्थनमा देशका विभिन्न स्थानमा दिप प्रज्वलन गर्ने कार्य जारी रहेको छ ।

पूर्वराजाको आह्वानपछि बिहीबार काठमाडौंको न्यूरोड, चावहिल, मनमैंजु, बसुन्धरा र साँखु, सुर्खेतको मूल चौराहा, हेटौंडा बजार, दैलेख, कालिकोट र जाजरकोट जिल्लाहरुमा दिप प्रज्वलन गरिएको छ । यसैगरी प्राप्त जानकारी अनुसार, शुक्रबार पनि बीरगंज, भक्तपुर, सिन्धुपाल्चोक, ललितपुर, दोलखा, उदयपुर, सिन्धुली, धनुषा, सुनसरी र चितवन जिल्लाहरुमा स्थानीयले पूर्वराजाको आह्वानको समर्थनमा दिप प्रज्वलन गर्ने कार्यक्रम तय गरिएको छ ।
पूर्वराजाको राष्ट्र जोगाउने, राष्ट्रिय एकता कायम राख्ने, उन्नति र समृद्धी हासिल गर्ने आह्वानको स्वागत र समर्थन दिप प्रज्वलन गर्न राप्रपाका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवल शम्शेर राणाले सबै राष्ट्रवादी प्रजातन्त्रवादी देशभक्त नेपाली जनतालाई बिहीबार आह्वान गरेका थिए ।

