अमेरिकाबाट विभिन्न शीर्षकमा आएको रकमको हिसाब माग्नुपर्छ : सांसद शाही
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले अमेरिकाबाट विभिन्न शीर्षकमा आएको रकमको हिसाब माग्नुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले नेपालमा सङ्घीयताको नाममा आएको रकम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भ्रष्टाचार भनेकाले कसले र किन ल्यायो छानबिन गरी कारबाही गर्नुपर्ने बताए ।
उनले नेपालले अमेरिकाबाट लिएको सहयोग अमेरिकी राष्ट्रपतिले नै भ्रष्टाचार भनेपछि अमेरिकामा बस्ने नेपालीको शिर झुकेको भन्दै भ्रष्ट नेताहरूकै कारण यस्तो भएको जिकिर गर्नुभयो । नेपाल राष्ट्र बैङ्कको अनुमति बिना विदेशी रकम भित्र्याउन नपाउने भन्दै गभर्नरलाई समिति बैठकमा बोलाएर रिपोर्ट माग्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘भर्खरै राष्ट्रपतिमा जितेका अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई भ्रष्टको देश भनिसक्नु भयो । किन भनियो भने सङ्घीयताको शीर्षकमा आउने २० मिलियन अमेरिकी डलर आजको विनिमयम दरअनुसार २ अर्ब ७६ अर्ब ६४ लाख रुपैयाँ र नेपालमा जैविक विविधताका संरक्षण अन्तर्गत दिन लागिएको १९ मिलियन अमेरिकी डलर आजको विनिमयम दरअनुसार २ अर्ब ६२ करोड ८१ लाख रुपैयाँ बराबरको सहयोग यो चाहिँ भष्ट्राचारीले लिए, यो फ्रड हो भन्दिनुभयो । अमेरिकाको राष्ट्रपतिले नेपालको नाम लिँदाखेरि फ्रड(भ्रष्टाचारी) किन भने भने हाम्रो देशको नीति नै त्यो भएर भने । अमेरिकाको र नेपालको सम्बन्ध २००४ साल फागुन ६ गते भएको हो । २०१५ मङ्सिर २९ गते संयुक्त राष्ट्र सङ्घको सदस्य भएका छौँ । राजा महेन्द्र र राजा वीरेन्द्र अमेरिका भ्रमणमा जाँदा सिंगो देशनै बन्द गरेर स्वागत गरेको देश हो अमेरिका जहाँ अहिले लाखौँ नेपाली बस्छन् ती नेपालीको शिर निहुर्यो कि निहुरिएन ? त्यसकारण त्यो पैसा ल्याउने को को हुन् ? को को बदमास फटाहाहरू हुन् फ्रड गर्ने ? यिनीहरूको हिसाब किताब राष्ट्र बैङ्कको गभर्नरलाई आउने समितिको बैठकमा राखेर यसको एक एक जवाफ समितिबाट पत्राचार गर्नुपर्यो । किनभने यो पैसा कहाँ आएको छ अराजकता फैल्याउनलाई ? अमेरिकाको राष्ट्रपतिले नै यो यो भ्रष्टाचार हो भनिसकेपछि ती भ्रष्टाचारी को हुन् त ? कसले ल्यायो त्यो पैसा ? कहाँ छ ? कसरी आयो ? यसको हिसाब एकाएक गरी समितिबाट पत्राचार गरेर माग्नुपर्छ । यो समितिको मताधिकार र क्षेत्राधिकारभित्र पर्छ त्यसको जवाफ अर्को समितिको बैठकसम्म राष्ट्र बैङ्कलाई पत्राचार गरेर यसको रिपोर्ट चाहियो सभापतिज्युलाई अनुरोध गर्छु ।’
प्रमुख सचेतक शाहीले एमसीसी पास गर्नेहरूप्रति व्यङ्ग्य गर्दै अमेरिकाले चिलिम देखाएपछि उनीहरू देशै छोडेर भाग्नुपर्ने अवस्थामा पुग्न लागेको जिकिर गरे । उनले एमसीसीमा नेपालको पनि पैसा परेको र त्यो खेर जाने अवस्था पुगेको दाबी गरे ।
उनले भने, ‘एउटा गीत थियो अमेरिका जाऔँ चीन जाऔँ ६० अर्ब मागौँ, भारत जाऔँ ५० अर्ब मागौँ । अमेरिकाले चिलिम देखाइदियो अब देश छोडेर भागौँ भन्ने भाछ । एमसीसी भनेर बहुत कराउनुभएको थियो त्यतिखेर । एमसीसीमा हाम्रो पनि पैसा परेको छ । १९.७ करोड अमेरिकी डलर झन्डै २१ अर्ब पैसा हुन्छ । त्यसबाट आधाभन्दा बढी पैसा खर्च गरिसक्या छन् विभिन्न कम्पनीका नाममा । कार्यालय होटल याक एन्ड यतिमा खोलेका छन् जहाँ हामी सांसदहरूले चिया खान सक्दैनौँ । त्यसतो ठाउँमा कार्यालय खोलेर देशको राजश्व लुटेर संसद्मा वितण्डा मच्चाएर आज त्यो एमसीसीले चिलिम देखाएको छ यहाँ, रोकियो । यो पैसा चाहिँ कसले तिर्ने हो ? अमेरिकाको त पैसा आयो आएन तिनैले जानुन्हा,म्रो करिब १९.७ करोड अमेरिकन डलर त नेपाल सरकारको पनि परेको छ । नेपाली जनताले चिया खाने पैसा कटौती गरेको ट्याक्सको रुपैयाँ त्यहाँ परेको छ ? यतिखेर को को हुन् जबाफदेही ? यो समितिको विषयवस्तु बन्छ । किनभने हाम्रो पैसा त खेर गयो नि । आज लथालिङ्ग भएका छन् आयोजना योजनाहरू । यो सेतो भ्रष्टाचार भएको हुनाले सिग्नेचर गर्ने को को हुन् ? हुलदङ्गा गरेर पास गर्ने को को हुन् ? यसको जवाफ माग्छु ।’
भ्रष्ट नेताहरूकै कारण नेपालको अर्थ व्यवस्था तथा आयोजना योजनाहरू लथालिङ्ग भएको भन्दै उनले सेतो भ्रष्टाचार गर्नेहरू को को हुन् छानबिन गरेर कारबाही गर्नुपर्नेमा जोड दिए ।

