रहेनन् संविधान सभाका सदस्य सापकोटा
काठमाडौं।संविधान सभाका सदस्य तथा नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ। सापकोटाको आज बिहान चावहिलस्थित हेल्पिङ ह्यान्ड अस्पतालमा उपचारका क्रममा निधन भएको एकीकृत समाजवादीले जनाएको छ।

५९ वर्षीय सापकोटा नेकपा (एमाले) काभ्रेको सचिव भएर लामो समय नेतृत्व गरेका थिए। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन अवस्थामा काभ्रे निर्वाचन क्षेत्र ४ बाट निर्वाचित भएका थिए।
सापकोटाको पार्थिव शरीर बिहीवार पार्टी कार्यालय आलोकनगरमा केहीबेर श्रद्धाञ्जलीका लागि राखेर आजै पशुपतिस्थित आर्यघाटमा अन्त्यष्टि गरिने बताईएको छ।
सापकोटा निधनपछि आज बस्ने भनिएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक स्थगित भएको छ । बैठक भोलि बिहान ११ बजे नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा बस्ने एसले जनाएको छ ।

