केआईआईटी घटना : समस्या समाधान नगरे एनओसी रोक्ने मन्त्रालयको चेतावनी
काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको ओडिसास्थित भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शङ्कास्पद मृत्युपछि सिर्जित समस्या समाधान नगरे भविष्यमा त्यहाँ विद्यार्थी पठाउन रोक लगाउने चेतावनी दिएको छ ।

मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले घटनाको समाधान नगरे एनओसी रोक्ने चेतावनी दिएको हो ।
‘उक्त घटनाबाट सृजित समस्याको न्यायपूर्ण र वैधानिकरूपमा समाधान नगरिएमा भविष्यका लागि भारतको ओडिसा राज्यका विश्वविद्यालय शिक्षण संस्थानमा अध्ययनका लागि प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमतिपत्र एनओसी प्रदान गर्ने कार्य स्थगित गर्न सकिने ब्यहोरा पनि सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,’ मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरिएको छ ।
केआईआईटीमा अध्ययनरत लम्सालको रहस्यमय मृत्यु र त्यसपछि सिर्जित घटनाप्रति मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।
विश्वविद्यालय प्रशासनबाट विद्यार्थीप्रतिको भएको व्यवहार निन्दनीय रहेको जनाउँदै मन्त्रालयले घटनाको विषयमा समस्या समाधानको लागि कूटनीतिक पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई अनुरोधसमेत गरेको छ ।

