सोलुखुम्बुका दलित अधिकारकर्मीले पनि मागे गृहमन्त्री लेखकको राजीनामा
सोलुखुम्बु।सोलुखुम्बुका दलित अधिकर्मीहरुले पनि गृहमन्त्री रमेश लेखकको राजीनामा माग्गरेका छन् ।

सर्लाहीका सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारको अन्तरजातीय विवाहप्रति राज्यबाटै हस्तक्षेप गरिएको आरोपसहित सदनदेखि सडकसम्म चौतर्फी बिरोध भइरहेका बेला संयुक्त दलित संघर्ष समिति सोलुखुम्बुले शुक्रबार प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै गृहमन्त्री लेखकको राजीनामा माग गरेको हो।अन्तरजातीय विवाहप्रति राज्यबाट गरिएको हस्तक्षेप संविधानविरोधी कार्य भएको समितिले प्रजिअ घिमिरेलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ।गृहमन्त्री लेखकले जातीय बिभेदलाई संस्थागत गर्न खोजेको आरोप लगाउंदै ज्ञापनपत्रमा संबिधान र नागरिक अधिकारमाथि प्रहार हुने कुनै अमानवीय गतिबिधि स्वीकार गर्न नसकिने उल्लेख छ।
गृहमन्त्री लेखकको राजीनामा,पीडितलाई न्याय र अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने नीतिहरूको प्रभावकारी कार्यान्वयनको माग गर्दै दलित संघर्ष समितिले उल्लेखित घटनाको छानबिन गरि कारबाही नगरिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ।
संघर्ष समितिका संयोजक हिरा विश्वकर्माले जातीय विभेदका घटनाहरूलाई सहेर नबस्ने बताए । प्रजिअ घिमिरेलाई अध्यक्ष बिश्वकर्मा र नेकपा एमालेका नेता एबम् दलित अधिकारकर्मी गोपाल घिमिरेले सो ज्ञापनपत्र बुझाएका थिए।



