सामाजिक सञ्जाल प्रयोग गरी महिलाको चरित्र हत्या गरेको आरोपमा उदयपुरका एक युवक पक्राउ



काठमाडौं। सामाजिक सञ्जाल प्रयोग गरी महिलाको चरित्र हत्या गरेको आरोपमा उदयपुरका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका–४ स्थायी घर भएका ३१ वर्षीय विश्वराज राईलाई प्रहरीले पक्राउ गरेको हो।

पीडित महिला र उनका प्रेमी सम्बन्धमा रहँदाका व्यक्तिगत भिडियो तथा तस्बिरहरू आफन्तहरूको सामाजिक सञ्जाल (म्यासेन्जर) मा पठाएको र गालीगलौज गर्दै चरित्र हत्या गरेको आरोप उनीमाथि छ।

पीडित महिलाले आफ्नो चरित्र हत्या गरेकोले आवश्यक अनुसन्धान तथा कारबाही गरी पाउँ भनी नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी थिइन्।

प्रहरीले प्राविधिक विश्लेषण सहितको अनुसन्धान गर्ने क्रममा राई दोषी देखिएको भन्दै पक्राउ गरेको हो। उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला प्रहरी कार्यालय, सिराहाको सहयोगमा पक्राउ गरिएको ब्युरोका उपनिर्देशक प्रवक्ता एसपी दिपकराज अवस्थीले जानकारी दिए।

काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्