प्रेस चौतारीले घोषणा गर्यो यस बर्षको पत्रकारिता पुरस्कार (नामावली सहित)
काठमाडौं । प्रेस चौतारी नेपालले यस बर्ष ११ जना अग्रज र क्रियाशील पत्रकारलाई पुरिस्कृत गर्ने निर्णय गरेको छ।

बरिष्ठ पत्रकार गोबिन्द पोखरेलको संयोजकत्वमा गठित सिफारिश समितिको सिफारिसका आधारमा उनीहरूलाई पुरस्कृत गर्ने निर्णय गरिएको प्रेस चौतारीका महासचिव हिरामान लामाले जानकारी दिएका छन् ।
महासचिव लामाद्वारा बिहिवार प्रकाशित विज्ञप्तिमा जनाईए अनुसार हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट नेपाल प्रेसका प्रधानसम्पादक मातृका पौडेललाई सम्मानित गर्ने निर्णय गरिएको छ ।यस्तै, सुदूरपश्चिम दैनिकका सम्पादक हेमन्त पौडेललाई अग्निशिखा स्मृति, शान्ति गुरुङलाई डा. शान्ति पाण्डे प्रेस चौतारी महिला पत्रकारिता, लालबाबु शेख र रिमा सोमैलाई वीरेन्द्रकुमार शाह क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।
यसैगरी टपेन्द्र कार्की र मालती केसीलाई डेकेन्द्र थापा स्मृति पत्रकारिता, उषा तामाङ र रोशनी कठेतलाई सावित्रीदेवी-पद्यलक्षमी बस्नेत स्मृति र गार्डेन राई र हरिश चन्द्रलाई चन्द्र न्यौपाने शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने महासचिव हिरामान लामाले बताउनु भएको छ ।
हृदयचन्द्रसिंह स्मृति पुरस्कार प्रेस चौतारी नेपालको सबैभन्दा ठूलो राशिको पुरस्कार हो । नेपाली साहित्यका अग्रज साहित्यकार तथा कवि हृदयचन्द्र सिंह प्रधानको स्मृतिका स्थापित यो पुरस्कारबाट यसअघि नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँले,बरिष्ठ पत्रकार शम्भु श्रेष्ठ,गोपाल बुढाथोकी, गोबिन्द पोखरेल, तीर्थ कोइराला, निर्मला शर्मा, रघु मैनाली, अखण्ड भण्डारीलगायत पुरस्कृत भइसक्नूभएको छ ।
हरेक वर्ष स्थापना दिवसका अवसरमा माघ २२ गते प्रदान गर्दै आएको सो पुरस्कार चौतारीले १० औँ महाधिवेशनको उदघाटन समारोहमा विराटनगरमा प्रदान गर्ने प्रेस चौतारीले जनाएको छ ।
नेकपा एमालेका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गर्नुहुने प्रेस चौतारीले जनाएको छ।

