सोनाम ल्होछारका अवसरमा रोमानियामा विशेष कार्यक्रम सम्पन्न
ल्हाक्पा तेन्जी शेर्पा लामा, रोमानिया। नेपाली समुदायबीच आपसी एकता,संस्कृति तथा परम्पराको प्रवर्द्दन गर्ने उद्देश्यले नेपाल तामाङ घेदुङ रोमानियाले सोनाम ल्होछार मन्जु श्री सम्बत २८६१ (डुल ल्हो) को अवसरमा बिशेष कार्यक्रमको आयोजना गरेको छ।

बौद्ध परम्पराअनुसार धार्मिक पूजापाठ गर्दै सुरु गरिएको सो कार्यक्रम धर्मगुरु खेन्पो लामा मिग्मर ड्रग्पो रेपाको प्रमुख अतिथ्यता र नेपाल तामाङ घेदुङ रोमानियाका अध्यक्ष फुर्साङ लामाको अध्यक्षतामा सम्पन्न भएको हो।
सो कार्यक्रममा धार्मिक अनुष्ठानको माध्यमबाट समुदायको उन्नति, समृद्धि तथा विश्व शान्तिको कामना गरिनुका साथै उपस्थित अतिथिहरूले पनि ल्होछार पर्वको धार्मिक र सांस्कृतिक महत्त्वबारे चर्चा गर्दै शुभकामना व्यक्त गरेका थिए।
रोमानियाको धार्मिक मामिला मन्त्रालयका मन्त्री सिप्राइन भाजिले ओलीनिसी,धार्मिक मामिला मन्त्रालयका निर्देशक मिहाई मिरोन,राष्ट्रिय भेदभाव विरुद्धको परिषद्क राज्य सचिब कृस्टियन जुरा,प्रधानमन्त्रीको क्याबिनेटकी राज्य सल्लाहकार एलिना सिम्पोइरु
रोमानियन संसद (चेम्बर अफ डेपुटिज) सांसद फ्लोरिन मनोले र
बुचारेस्ट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका कार्यकारी सल्लाहकार एडृन बडेस्कु अतिथि रहनुभएको कार्यक्रममा तमु समाज रोमानियाले ग्याब्री नृत्य,शेर्पा किदुगले स्याब्रु नृत्य, किरात समाज रोमानियाले साकेला नृत्य,मगर समाज रोमानियाले परम्परागत मगर नृत्य,ह्योल्मो समुदायले स्याब्रु नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए।

