नेकपा माओवादी केन्द्र : नेताहरूको जिम्मेवारी हेरफेर, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको भेला गर्ने निर्णय



काठमाडौं। नेकपा माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ ।

सोमबार प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो । बैठकले कोशी प्रदेशमा उपमहासचिव हरिबोल गजुरेललाई यथावत् राख्दै मधेस प्रदेशमा उपमहासचिव मातृका यादव र बागमती प्रदेशमा सचिव हितमान शाक्यले इन्चार्जको जिम्मेवारी दिएको उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए।

यस्तै गण्डकी प्रदेशमा सचिव दीनानाथ शर्मालाई नै यथावत राखिएको छ । यस्तै लुम्बिनी प्रदेशमा सचिव चक्रपाणि खनाल, कर्णाली प्रदेशमा स्थायी समिति सदस्य कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरिराजमणि पोखरेललाई इन्चार्जमा यथावत् राखिएको छ ।

यसैगरी,उपत्यका विशेषमा स्थायी समिति सदस्य जयपुरी घर्ती, प्रवासतर्फ सार्क प्रदेशमा लक्ष्मण पन्त, युरोप, अमेरिका प्रदेशमा राम कार्की र एसिया प्रदेशको इन्चार्जमा ओम शर्माले जिम्मेवारी पाएका छन् ।

पदाधिकारी बैठकले गते पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखको भेला फागुन ९ गते गर्ने निर्णय पनि गरेको सापकोटाले जानकारी दिए । १२३ वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख गरी माओवादीले नेतृत्व गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस्