सरकारद्वारा प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेस
काठमाडौं।प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेस भएका छन् । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गरे ।

सेवाग्राहीलाई छिटो, छरितो सेवा दिने र सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनका लागि कतिपय ऐनका प्रावधान तत्काल संशोधन गर्नुपर्ने आवश्यक रहेकाले उनले बताए ।
त्यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ संसद्मा पेस गरेका छन् ।
आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गरेका हुन् ।
उता,प्रतिनिधिसभाले नियमावलीअनुसार सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको नाम अनुमोदन गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तुत गर्नुभएको नामलाई सभाले स्वीकृत गरेको थियो । सभाले सांसदहरु ईश्वरीदेवी न्यौपाने, अमृतादेवी अग्रहरी, चन्दा कार्की, दुर्गा राई, बुद्धिमान तामाङ, रामकृष्ण यादव, हेमराज राईको नाम अनुमोदन गरेको हो ।