जिल्ला अदालत कास्कीको निर्णयविरुद्ध रास्वपा सभापति लामिछानेले गुहारे उच्च अदालत



पोखरा । पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेले जिल्ला अदालत कास्कीको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दर्ता गराएका छन्। जिल्लाको आदेश भएको करिब ३ सातापछि सोमबार उनले उच्च अदालत पोखरामा जिल्लाको आदेश बेरितपूर्ण भएको दाबी गर्दै आफूलाई साधारण तारेखमै राखेर मुद्दाको पुर्पक्ष गरी पाऊँ भनी निवेदन दर्ता गराएका हुन्। लामिछानेलाई जिल्ला अदालत कास्कीले ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

उच्च अदालतका सूचना अधिकारी उपरजिस्ट्रार नील पनेरुले लामिछानेले निवेदन दर्ता भएको पुष्टि गरे। लामिछानेका तर्फबाट मुद्दा लडिरहेका उनका कानुन व्यवसायी डा. नारायणदत्त कँडेलले भने, ‘६५ लाख धरौटी बुझाउने जिल्लाको आदेश बेरितको आदेश हो भन्दै उहाँले साधारण तारेखमै रही मुद्दाको पुर्पक्ष गरी पाऊँ भनी भर्खरै निवेदन दर्ता गराउनुभएको हो।’

गत २५ पुसमा कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतका मुद्दामा लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

सोबमोजिम लामिछानेले बैंक ग्यारेन्टी गरेर सोही दिन ८४ दिनको हिरासत बसाइपछि थुनामुक्त भएका थिए। न्यायाधीश राईको इजलासलाई लामिछानेसमेत सातजना प्रतिवादीलाई फरकफरक रकम धरौटी माग गरेको थियो।

प्रतिवादीलाई धरौटीमा रिहा गर्ने जिल्लाको आदेशविरुद्ध उच्च सरकारी वकिल कार्यालय पोखराले पनि गत साता उच्चमा निवेदन दर्ता गरेको थियो। सरकार पक्षले प्रतिवादीलाई तत्काल थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग दाबी गरेको छ। सोबमोजिम गत ८ माघमा उच्चले कैफियत प्रतिवेदन माग गर्ने आदेश गरिसकेको थियो।उक्त कैफियत प्रतिवेदन जिल्लाबाट आइसकेको सूचना अधिकारी पनेरुले बताए।
उच्च अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले जिल्लाको आदेशउपर कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको थियो।

अब लामिछानेको तर्फबाट पनि परेको निवेदनमा मंगलबार अदालतले कैफियत प्रतिवेदन मगाउने आदेशसँगै पेसी चढ्छ। वादी प्रतिवादी दुवै पक्षबाट वकिलको बहसपछि उच्चले जिल्लाकै आदेश सदर गर्ने वा उल्टीमध्ये एक आदेश दिनेछ। लामिछानेलाई काठमाडौँ र रुपन्देही जिल्ला अदालतले पनि धरौटी माग गरेको छ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा उनलाई ६० लाख र रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरण मुद्दामा आइतबारमात्रै जिल्ला अदालतले १ करोड धरौटीमा रिहाको आदेश दिएको थियो। लामिछानेसमेतको टोली रुपन्देहीमा १ करोड बैंक ग्यारेन्टी बुझाएर रातारात पोखरा आएको हो। file foto

प्रतिक्रिया दिनुहोस्