विदेशी अनुदान स्थगित गर्ने ट्रम्प निर्णय प्रभाव : नेपालमा सञ्चालित परियोजना स्थगित गर्न यूएसएआईडीद्वारा पत्राचार



काठमाडौं।अमेरिकी सहयोग नियोग (यूएसएआईडी) ले नेपालमा सञ्चालित सबै परियोजना स्थगित गर्न पत्र पठाएको छ ।

अमेरिकाले तीन महिनाका लागि विदेशी अनुदान स्थगित गर्ने निर्णय गरेसँगै यूएसएआईडीले अर्थ मन्त्रालयलाई पत्र लेखेर अनुदानमा सञ्चालित सबै कार्यक्रम तत्कालका लागि स्थगित भएको जानकारी गराएको हो। पत्रमा तालिम,सामान किनमेल,समुदायका लागि सञ्चालित कार्यक्रमलगायत स्थगित गर्न भनिएको छ ।

पत्रमार्फत राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय कार्यान्वयनका लागि अहिलेलाई ९० दिनका लागि अनुदान निलम्बन गरिएको जानकारी दिए पनि पनि त्यसपछि के हुन्छ भन्ने उल्लेख छैन । तीन महिना पछि प्रभावकारिताका आधारमा मूल्याङ्कन गरेर अनुदान दिने/नदिनेसम्बन्धी निर्णय गर्नेसमेत पत्रमा उल्लेख छ।

पत्रमा यूएसएआईडी र नेपालको सम्झौताअनुसार सञ्चालित स्वास्थ्य, शिक्षा, कृषि र समावेशी नीतिसहित मुख्यतः चार क्षेत्रका कार्यक्रम तत्काल निलम्बित भएको उल्लेख छ । अमेरिकाले नेपाललाई बजेटमा समावेश हुने गरी (बजेटरी) र बजेटभन्दा बाहिर खर्च गर्ने गरी (गैरबजेटरी) माध्यमबाट अनुदान दिँदै आएको छ  । धेरै अनुदान यूएसएआईडीमार्फत आउने गर्छ ।

नेपालमा पूर्वाधारसम्बन्धी कार्यक्रमका लागि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत आइरहेको अनुदान छुट्टै हो ।अमेरिकाबाट प्राप्त अनुदान नेपालमा सुशासन, मानव विकास, विपद् सुरक्षण तथा पूर्वतयारी, पूर्वाधार निर्माण, शिक्षा तथा स्वास्थ्य र जनसङ्ख्या क्षेत्रअन्तर्गत मातृ तथा शिशु स्वास्थ्य र परिवार नियोजन, एचआईभी एड्स, पानी आपूर्ति तथा सरसफाइ, आधारभूत स्वास्थ्यलगायत क्षेत्रमा प्रयोग हुँदै आएको छ ।

देशको वित्तीय सुधार, प्रशासन सुधारलगायत क्षेत्रमा पनि अमेरिकी अनुदान खर्च हुँदै आएको छ । कृषि क्षेत्रतर्फ कृषि नीति तथा प्रशासन व्यवस्थापनमा अमेरिकी अनुदानको ठूलो रकम उपयोग भइरहेको छ ।

राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले पद सम्हाले लगत्तै अमेरिकाले तत्कालका लागि वैदेशिक अनुदान रोक्ने निर्णय गरेपछि विश्वभर नै तरङ्ग उत्पन्न भएको छ । अब तीन महिनाको समीक्षापछि अनुदान स्थगन गर्ने वा निरन्तरता दिने भन्ने विषय अमेरिकी सरकारले टुङ्गो लगाउने छ ।

प्रतिक्रिया दिनुहोस्