एउटै आवाज र एउटै स्वरका साथ संसद्मा प्रस्तुत हुन सांसदहरुलाई सभापति देउवाको निर्देशन
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक ढिक्का भएर संसद्मा एक स्वरका साथ एउटै आवाज उठाउन पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् ।

पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र सांसद एवं पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँगको छलफलमा सभापति देउवाले सो निर्देशन दिएका हुन् ।
पार्टीका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बैठकमा मन्त्रीहरूले सरकारमा भएका काम, कारबाहीबारे जानकारी गराउनुभएको थियो। । उनका अनुसार बैठकमा वर्तमान सरकारको अवस्था, सरकारले गरिरहेका काम, कारबाही, संसद्मा प्रस्तुत भएका विधेयकहरू, अध्यादेश र आउने विधेयकहरूका विषयमा गहन रूपमा छलफल भएको छ ।
नेपाली काँग्रेस एक ढिक्का भएर एउटै आवाज र एउटै स्वरका साथ संसद्मा प्रस्तुत हुने र बाहिर पनि एक ढिक्का भएर प्रस्तुत हुने निर्णय भएको बताए । आर्थिक पक्षमा तत्काल केही सुधार गर्नुपर्ने भएकाले र मुलुकमा आर्थिक गतिविधि चलायमान बनाउन केही विधेयक संशोधन गर्नुपर्ने बाध्यता भएकाले अध्यादेश ल्याएको कुरा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले राख्नुभएको बताए ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले संविधान संशोधनका विषयमा सरकारले गम्भीरताका साथ गृहकार्य थालेको जानकारी दिए । उनले पार्टी बाहेक पनि सरकारको तर्फबाट संविधान संशोधनका लागि छुट्टै संयन्त्र बनाएर काम अघि बढाउनेबारेमा सरकारमा सहभागी मन्त्रीहरूले जानकारी गराउनुभएको बताए । उनले आर्थिक गतिविधि चलायमान गर्नको लागि अध्यादेश ल्याएको र सबैले स्वागत गरेको बताए ।
उनले भने, ‘संविधान संशोधनका विषयमा हामीले गम्भीर गृहकार्य थालनी गरेका छौँ । त्यसमा एउटा छुट्टै संयन्त्र पनि बन्छ । त्यसमाथि पार्टीगत पनि बन्छ । संशोधनका विषयवस्तुहरू हुन सक्दछन् । सरकारबाट पनि एउटा संयन्त्र बनाएर त्यसउपर गम्भीर गृहकार्य गर्ने भन्ने नै हो । धेरै विधेयकहरू संसद्मा धेरै वर्षदेखि पेण्डिङ रहेको र समयमा कार्यान्वयन नभएको अवस्थामा आर्थिक गतिविधि चलायमान गर्नको लागि अध्यादेशमार्फत छिटो छरितो हुने आशयले ल्याएको कुरा राखे । त्यसलाई सबैतिरबाट स्वागत भइरहेको छ । संसद्मा तत्काल नै अध्यादेश प्रस्तुत हुनेछ ।’
प्रवक्ता महतले अध्यादेश, सरकारको स्थितिबारे पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले जानकारी गराउनुभएको बताए । विचाराधीन विधेयक संसद्बाट छिटो पारित गर्नेबारेमा छलफल भएको बताए ।
file foto

