विकास र आमसञ्चारका बिषयमा काठमाडौं बिश्व विद्यालयका विद्यार्थीलाई अध्यक्ष राईको प्रबचन
काठमाडौं।सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष अशिम राईले काठमाडौँ विश्वविद्यालयकाे स्कूल अफ आर्ट अन्तर्गतको भाषा तथा आमसञ्चार विभागको स्नातक तहका विद्यार्थीहरुलाई प्रबचन (लेक्चर)दिनुभएको छ।

दोश्रो पटक गाउँपालिका अध्यक्षमा निर्बाचित भएर बिकास निर्माणको सवालमा उदाहरणीय कार्य गरिरहनु भएका राईले काठमाडौं बिश्व विद्यालयको निमन्त्रणामा सो बिश्व विद्यालयको स्कूल अफ आर्ट अन्तर्गतको भाषा तथा आमसञ्चार विभागको स्नातक तह (Development Communication) तेस्रो वर्षका विद्यार्थीहरुलाई शुक्रबार “Bridging Theory and Practice: Insights into Development Communication in Nepal’s Local Governance” शीर्षकमा प्रवचन (लेक्चर) दिनुभएको हो।
प्रबचनका क्रममा अध्यक्ष राईले नेपालको स्थानीय शासनमा विकास र आमसञ्चारका बिषयमा विद्यार्थीहरुसंग आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो।विकास सञ्चारसँगकाे आफ्नो अनुभव,ज्ञान र सिकाईबारे विद्यार्थीमाझ प्रस्तुत धारणाले वहाँहरुको ज्ञानको दायरा फराकिलो बनाउन मद्दत पुग्ने विश्वास अध्यक्ष राईले व्यक्त गर्नुभएको छ ।
‘कार्यक्रममा विद्यार्थी भाईबहिनीहरुले देखाउनु भएको उत्साहजनक सहभागिताले म स्वंयमलाई पनि ऊर्जा र सिकाईको दृष्टिकोणमा राम्रो पाठ पाएको अनुभूति गरेको छु’- अध्यक्ष राईले भन्नुभएको छ, ‘मेरो जेन्जी जेनेरेशनसँगको छलफल र बहसको यात्रा अझै घनीभूत र औचित्यपूर्ण ढंगबाट अगाडि बढिरहने नै छ ।नेतृत्वको हरेक कोण, दृष्टिकोण र पहेली केलाउने हुटहुटी सधैं रहनेछ।’
अध्यक्ष राईले आफुलाई निमन्त्रणा गरेर विद्यार्थीहरुमाझ आफ्नो धारणा प्रस्तुत गर्ने सुवर्ण अवसर प्रदान गरेको भन्दै विश्वविद्यालय, संकाय र विभाग तथा भिजिटिङ फ्याकल्टी मदन राईले धन्यवाद समेत ज्ञापन गर्नुभएको छ।

